2Shares

जेन–जी आन्दोलनको सन्देश आत्मसात् गर्दै सुशासन, रोजगारी र विकासको स्पष्ट रोडम्याप सार्वजनिक

पोखरा । नेपाली कांग्रेस कास्की क्षेत्र नं. २ का प्रतिनिधि सभा उम्मेदवार माधव प्रसाद बास्तोला ‘मधु’ले कांग्रेस परिवर्तनको नेतृत्व गर्न पूर्ण रूपमा तयार रहेको बताएका छन्। कास्की–२ मा आयोजित बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले कांग्रेस न थाकेको छ, न डराएको—बरु जनताको भरोसामा अघि बढ्न दृढ रहेको स्पष्ट पारे।

कार्यक्रमको सुरुआतमा उनले प्रजातान्त्रिक आन्दोलनका क्रममा सहादत प्राप्त सम्पूर्ण शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्दै यही भदौ २३ र २४ गते सम्पन्न जेन–जी आन्दोलनका शहीदप्रति विशेष सम्मान व्यक्त गरे। “युवाले सडकबाट दिएको सन्देश अराजकता होइन, भ्रष्टाचारविरुद्धको चेतावनी र जवाफदेही नेतृत्वको माग हो,” उनले भने।

फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसबाट उम्मेदवार बन्नुलाई व्यक्तिगत उपलब्धिभन्दा पनि कास्की–२ का नागरिक, जेन–जी पुस्ता र इमानदार कार्यकर्ताको साझा भरोसाको परिणामका रूपमा लिएको बास्तोलाको भनाइ थियो। “यो पदको चाहना होइन, सेवाको जिम्मेवारी हो,” उनले स्पष्ट गरे।

उनले नेपाली कांग्रेस सुधार र रूपान्तरणको यात्रामा अघि बढिसकेको दाबी गर्दै पार्टी सभापति गगन थापाको नेतृत्वमा पारदर्शिता, उत्तरदायित्व, आन्तरिक लोकतन्त्र र कामको राजनीतिलाई प्राथमिकता दिइएको उल्लेख गरे। “अब बदलिएको कांग्रेसले देश बदल्छ भन्ने कुरा जनतामाझ स्थापित गर्नुपर्छ,” उनले भने।

बास्तोलाले कास्की–२ को समग्र विकासका लागि स्पष्ट कार्ययोजना प्रस्तुत गर्दै सुशासन, भ्रष्टाचारमुक्त प्रशासन, सीप विकास, स्टार्टअप, उद्यमशीलता, पर्यटन, प्रविधि, वातावरण संरक्षण र रोजगारी सिर्जनालाई मुख्य एजेन्डा बनाउने प्रतिबद्धता जनाए। युवाको पूँजी र बौद्धिक पलायन रोक्न ठोस नीति ल्याइने र स्थानीय उद्यमशीलतालाई प्रोत्साहन गरिने उनले बताए।

उनले कास्की–२ का सबै वडा लक्षित कार्यक्रम सार्वजनिक गर्दै कृषक, महिला, श्रमिक, दलित, आदिवासी जनजाति तथा साना व्यवसायीका मुद्दा आफ्नै मुद्दा भएको बताए। “विकास भनेको सडक र भवन मात्र होइन, अवसरको समान वितरण हो,” उनले जोड दिए।

“अब गफ होइन, काम चाहिएको छ,” भन्दै बास्तोलाले योजनाको प्रभावकारी कार्यान्वयनमा जोड दिए। संसदमा पुगेपछि कास्की–२ को आवाज बलियोसँग उठाउने, जनअपेक्षा र सुझावलाई नीति निर्माणमा प्रतिविम्बित गर्ने उनले वाचा गरे।

कार्यक्रमको अन्त्यमा उनले युवालाई विशेष प्राथमिकतामा राख्दै किसान, मजदुर, महिला र ज्येष्ठ नागरिकको जीवन प्रत्यक्ष रूपमा बदल्ने नीति तथा कार्यक्रम कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे। “जनताको भरोसामा कहिल्यै धोका दिने छैन,” उनले दृढतापूर्वक भने।

2Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected