1Shares

पोखरा। आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले कास्की क्षेत्र नम्बर २ मा संगठनात्मक शक्ति देखाएको छ। कांग्रेसले १ हजार १ सय ११ सदस्यीय विशाल निर्वाचन प्रचार–प्रसार समिति गठन गर्दै चुनावी अभियानलाई व्यवस्थित र परिणाममुखी बनाउने तयारी अघि बढाएको हो।

शनिबार पोखरामा सम्पन्न बृहत् क्षेत्रीय कार्यकर्ता भेलाले क्षेत्रीय सभापति केशरप्रसाद निर्दोषीको संयोजकत्वमा प्रचार समिति गठन गरेको हो। समितिका सचिव देवकृष्ण पराजुलीका अनुसार प्रचार, मतदाता सम्पर्क, व्यवस्थापन, नीति–एजेन्डा, युवा तथा महिला परिचालन लगायतका जिम्मेवारी समेट्दै २१ वटा उपसमिति गठन गरी कार्य विभाजन गरिएको छ।

भेलालाई सम्बोधन गर्दै प्रतिनिधि सभा उम्मेदवार माधवप्रसाद बास्तोलाले अबको निर्वाचन ‘व्यक्ति होइन, दृष्टिकोण र परिवर्तनको परीक्षा’ भएको बताए। “बदलिएको कांग्रेसले अब देश बदल्छ,” भन्दै उनले पार्टी परिवर्तनको नेतृत्व गर्न तयार रहेको दाबी गरे। भ्रष्टाचारमुक्त सुशासन, युवालाई रोजगारी र अवसर सिर्जना आफ्ना मुख्य प्राथमिकता भएको उल्लेख गर्दै बास्तोलाले कास्की–२ का ११ वटै वडाका लागि छुट्टाछुट्टै विकास खाका सार्वजनिक गरेका छन्।

कानुनका विद्यार्थीसमेत रहेका बास्तोलाले संसदमा कास्की–२ को आवाज प्रभावकारी रूपमा उठाउने प्रतिबद्धता जनाए। कृषि, पर्यटन, डिजिटल कनेक्टिभिटी र पूर्वाधार विकासलाई वडा केन्द्रित कार्यक्रममार्फत कार्यान्वयन गर्ने उनले बताए। किसान, मजदुर, महिला र ज्येष्ठ नागरिकका सवाल निर्णयको तहसम्म पुर्‍याउने र पुँजी तथा बौद्धिक पलायन रोक्न स्टार्टअपमार्फत रोजगारी सिर्जना गर्ने उनको संकल्प छ।

कार्यक्रममा गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले संगठन, रणनीति र एकतामै कांग्रेसको विजय निर्भर रहने धारणा राखे। कास्की कांग्रेस सभापति किशोरदत्त बरालले बजारमा देखिएका क्षणिक पपुलिजममा नफस्न कार्यकर्तालाई आग्रह गर्दै कांग्रेस नीति र एजेन्डामा स्पष्ट रहेको बताए।

भेलामा संविधान सभा सदस्य बिन्दा राना, महासमिति सदस्य बिरेन्द्र नारायण बिजुक्छे, महाधिवेशन प्रतिनिधि लक्ष्मी पाण्डे, नेपाल तरुण दलका केन्द्रीय सदस्य मदन बस्नेत,पोखरा महानगर सभापति सुरेन्द्र बिजुक्क्षे, क्षेत्र नं. १ का सचिव सरोज केसी, पोखरा महानगरपालिका वडा नं. ९ का वडाध्यक्ष दिपेन्द्र मर्सानी, तमु संघका केन्द्रीय अध्यक्ष तथा वैदेशिक रोजगार संघका केन्द्रीय अध्यक्ष भुवनसिंह गुरुङ, वडा सभापतिहरू ८ का रमेश बराल. १५ का सभापति सुशीलराज पराजुली,  १७ का वडा सभापति देवराज आचार्य, २१ का सभापति केवल गिरीलगायतले लगायतले शुभकामना मन्तव्य राख्दै चुनावी अभियानमा सक्रिय रूपमा खटिने प्रतिबद्धता जनाए।

क्षेत्रीय सभापति केशरप्रसाद निर्दोषीको अध्यक्षतामा सम्पन्न भेलाको सञ्चालन सचिव देवकृष्ण पराजुलीले गरेका थिए भने उपसभापति दिनेश आचार्यले स्वागत मन्तव्य राखेका थिए।

1Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected