
पोखरा । कास्की क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की प्रतिनिधि सभा सदस्य उम्मेदवार बिना गुरुङले मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूका समस्या सुन्ने र नीतिगत समाधानका विषयमा छलफल गर्ने अभियानलाई निरन्तरता दिएकी छन्।
आइतबार पोखराको पुरन्चौर क्षेत्रका मतदातासँग भेटेकी गुरुङले सोमबार हेमजाका विभिन्न स्थानमा पुगेर स्थानीयवासीका गुनासा र सुझाव सुनेकी हुन्। याम्दी, जैसीचौर, मिलनचोक, झिझिर्कालगायतका क्षेत्रमा मतदातासँग छलफल गर्दै उनले राष्ट्रिय नीति निर्माणदेखि स्थानीय समस्या समाधानसम्मका विषय उठाएकी थिइन्।
आलु र तरकारी उत्पादनको पकेट क्षेत्र मानिने हेमजाका किसानहरूले कृषिको आधुनिकीकरण र बजारीकरणको नाममा विगतका उम्मेदवारले आश्वासन दिए पनि कार्यान्वयन नभएको गुनासो गरे। अहिले पनि किसानका उत्पादनको बजारीकरणमा विचौलिया हाबी रहेको तथा कृषियोग्य भूमिमा बढ्दो सहरीकरणले समस्या सिर्जना गरिरहेको उनीहरूको भनाइ थियो।
स्थानीयका सुझावलाई सम्बोधन गर्दै उम्मेदवार गुरुङले चर्का भाषण र सस्तो आश्वासन नदिने, तर नीतिगत तहबाट नागरिकको पक्षमा काम गर्ने प्रतिबद्धता जनाइन्। करिब वार्षिक २५ करोड रुपैयाँ बराबरको आलु उत्पादन हुने हेमजाजस्ता क्षेत्रमा कृषि संरक्षणसँगै व्यवस्थित सहरीकरणको स्पष्ट नीति आवश्यक रहेको उनको भनाइ थियो।
‘हेमजाले सिंगो पोखरालाई तरकारीमा आत्मनिर्भर बनाउन ठूलो योगदान दिएको छ, तर यही क्षेत्र अव्यवस्थित सहरीकरणको चपेटामा परेको छ,’ उनले भनिन्, ‘कृषि क्षेत्र र सहरी विकासलाई सन्तुलनमा राख्ने नीति बनाउन संसदमा आवाज उठाउनेछु।’
कास्की–३ का विभिन्न स्थानमा पुग्दा सम्भावना हुँदाहुँदै पनि राजनीतिक स्वार्थका कारण विकास हुन नसकेको गुनासो धेरैले गरेको गुरुङले बताइन्। आफू कुनै स्वार्थ लिएर राजनीतिमा नआएको उल्लेख गर्दै उनले सुशासन, नागरिक हित र सामाजिक न्यायका पक्षमा काम गर्ने स्पष्ट गरिन्।
महिला सशक्तीकरण, संस्कृति संरक्षण र सामाजिक न्यायका क्षेत्रमा सक्रिय रहँदै सञ्जीवनी सिस्टर्स एसोसिएसनको संस्थापक अध्यक्षका रूपमा काम गरिसकेकी गुरुङले स्थानीय आवश्यकता र माटो सुहाउँदो नीति निर्माणमा जोड दिने प्रतिबद्धता व्यक्त गरिन्।






सम्बन्धित खवर















