0Shares

पोखरा। नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा कार्यसमिति–१० ले प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै सम्पर्क कार्यालय स्थापना गरेको छ। सम्पर्क कार्यालयको उद्घाटन नेपाली कांग्रेसको तर्फबाट कास्की क्षेत्र नं. १ का प्रतिनिधि सभा उम्मेदवार तिलकबहादुर रानाभाटले गरेका हुन् ।

सम्पर्क कार्यालय स्थापना भएसँगै नेपाली कांग्रेसले सो वडाभित्र विभिन्न क्षेत्रका नागरिकसँग प्रत्यक्ष भेटघाट गर्दै सुझाव संकलन अभियानलाई तीव्र बनाएको छ। यसक्रममा रामबजारस्थित ज्येष्ठ नागरिक सेवा केन्द्रमा पुगेर ज्येष्ठ नागरिकहरूसँग उनीहरूको समस्या, अपेक्षा र सुझाव संकलन गरिएको छ।

त्यसैगरी कृष्ण मन्दिर, गौरी मार्ग, हस्पिटल चोक, स्वर्णिम टोल, अन्नपूर्ण टोल, जनप्रिय टोल तथा नागिन टोलका बासिन्दासँग पनि भेटघाट गरी स्थानीय विकास, सेवा–सुविधा र समसामयिक आवश्यकता सम्बन्धी सुझावहरू संकलन गरिएको छ।

कार्यक्रममा बोल्दै उम्मेदवार तिलकबहादुर रानाभाटले नागरिकबाट प्राप्त सुझाव नै आफ्नो प्राथमिकता र भावी योजना निर्माणको आधार हुने स्पष्ट पारे । “जनताको आवाज सुनेर, जनताकै चाहना अनुसार योजना बनाउने मेरो प्रतिबद्धता हो,” उनले भने ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका उम्मेदवार रानाभाटले देशलाई एक्काइसौँ शताब्दीको प्रतिस्पर्धात्मक विश्वसँग जोड्न सक्ने खालको नीति र नेतृत्वको आवश्यकता औँल्याए । उनले लोकतान्त्रिक मूल्य, समावेशी विकास र दिगो समृद्धिको मार्गमा कांग्रेस दृढतापूर्वक अघि बढ्ने विश्वास व्यक्त गरे।

यसैबीच उम्मेदवार रानाभाट नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा कार्यसमिति–२६ द्वारा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा समेत सहभागी भएका थिए। सो अवसरमा उनले कार्यकर्ताहरूसँग संगठन सुदृढीकरण, निर्वाचन रणनीति तथा जनसम्पर्क विस्तारका विषयमा छलफल गरेका थिए ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected