5Shares

पोखरा । कास्की निर्वाचन क्षेत्र नं. २ अन्तर्गत आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै पोखरा महानगरपालिका वडा नं. ४ मा नेपाली काँग्रेसको चुनाव प्रचार–प्रसार समितिको सम्पर्क कार्यालय उद्घाटन गरिएको छ।

कार्यालयको गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा र प्रतिनिधिसभा सदस्यका उम्मेदवार माधवप्रसाद बास्तोलाले संयुक्त रूपमा उद्घाटन गरेका छन् ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै गण्डकी प्रदेश सभापति शर्माले प्रजातन्त्र, व्यक्तिगत स्वतन्त्रता र राष्ट्रिय स्वाधीनताको सवालमा नेपाली काँग्रेसले कहिल्यै सम्झौता नगर्ने स्पष्ट पारे । प्रजातन्त्रप्रति विश्वास राख्ने जो कोही पनि काँग्रेसभित्र अटाउन सक्ने उल्लेख गर्दै उनले पार्टी अब सुधारिएको अवस्थामा रहेको दाबी गरे ।

“नेपाली काँग्रेसको नेतृत्व अहिले युवाको काँधमा पुगेको छ। त्यसैले युवा मतदाताले पनि एक पटक काँग्रेसलाई विश्वास गर्नुपर्छ,” उनले भने। काँग्रेसले आफ्ना एजेन्डा युवा लक्षित बनाएको उल्लेख गर्दै युवालाई स्वदेशमै उद्योग, व्यवसाय र रोजगारी सिर्जना गर्ने वातावरण निर्माण गर्न पार्टी प्रतिबद्ध रहेको उनको भनाइ थियो।

कार्यक्रममा प्रतिनिधिसभा सदस्यका उम्मेदवार माधवप्रसाद बास्तोलाले पछिल्लो पुस्ता अर्थात् जेन्जी (Gen-Z) ले उठाएका मागहरू जायज रहेको र ती माग सम्बोधन गर्न नेपाली काँग्रेस सक्रिय रूपमा लाग्ने बताए ।

युवालाई स्वदेशमै रोजगारीको प्रत्याभूति गराउनु आजको प्रमुख आवश्यकता भएको उल्लेख गर्दै उनले बढ्दो युवा पलायन रोक्न समयानुकूल उच्च शिक्षा, सीप विकास र रोजगारीका अवसर एकसाथ सिर्जना गर्नुपर्नेमा जोड दिए ।

मतदाताको घरदैलो कार्यक्रममा पोखरा महानगर क्षेत्रमा फोहोर व्यवस्थापन, खानेपानी, ढल निकास, सडक निर्माण, व्यापार व्यवसाय, शिक्षा, स्वास्थ्य सेवा, युवा रोजगारी, ज्येष्ठ नागरिकका समस्या तथा स्वास्थ्य बीमा जस्ता विषयहरू बढी उठ्ने गरेको उनले बताए । यी सबै मुद्दाको प्रभावकारी समाधानका लागि आफू प्रतिबद्ध भएर लाग्ने विश्वास पनि उनले व्यक्त गरे ।

नेपाली काँग्रेस कास्कीका पूर्व सभापति सोभियतबहादुर अधिकारीले आम नेपाली जनताको चाहना र आवश्यकतालाई केन्द्रमा राखेर पार्टी अघि बढ्नुपर्ने धारणा राखे ।

कार्यक्रममा नेपाली काँग्रेस क्षेत्रीय सभापति केशरप्रसाद निर्दोषी, नेता राजेन्द्रनिधि कोइराला, पूर्ण तिमिल्सेना, देवकृष्ण पराजुली, गोविन्द पराजुली लगायतका वक्ताहरूले सुधारिएको काँग्रेसले देशलाई पनि बदल्ने दाबी गर्दै आसन्न निर्वाचनमा नेपाली काँग्रेसलाई विजयी गराउन सबै एकजुट हुनुपर्नेमा जोड दिए ।

5Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected