15Shares

पोखरा । ढिकुर पोखरी समाज पोखराको १९औँ स्थापना दिवसको अवसरमा आयोजित खुला रक्तदान तथा निःशुल्क दन्त परीक्षण कार्यक्रम बुधबार पोखरामा सफलतापूर्वक सम्पन्न भएको छ। स्थापना दिवसलाई केवल औपचारिक कार्यक्रममै सीमित नराखी समाजप्रति उत्तरदायी र जीवनोपयोगी सेवामा योगदान पुर्‍याउने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको समाजका अध्यक्ष लक्ष्मी अधिकारीले बताइन् ।

रक्तसञ्चार कार्यालय पोखराको प्राविधिक सहयोगमा सञ्चालित रक्तदान कार्यक्रममा ३४ युनिट रगत संकलन गरिएको समाजका सचिव गणेशप्रसाद अधिकारीले जानकारी दिए। कार्यक्रममा विभिन्न उमेर समूहका स्थानीय नागरिक, समाजका सदस्य तथा युवाहरूको उत्साहजनक सहभागिता रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशसभा सदस्य प्रकाश बरालले रक्तदानको महत्वबारे प्रकाश पार्दै “रक्तदान महादान हो। प्रत्येक स्वस्थ व्यक्तिले तीन–तीन महिनामा सहजै रक्तदान गर्न सक्छ” भन्दै युवाहरूलाई नियमित रक्तदाताको रूपमा अघि बढ्न आग्रह गरे। उनले यस्ता कार्यक्रमले समुदायमा मानवीय संवेदना र सामाजिक उत्तरदायित्वको भावना विकास गर्ने बताए।

समाजका संस्थापक अध्यक्ष रामचन्द्र पौडेलले संस्था स्थापनाको पृष्ठभूमिबारे चर्चा गर्दै आफ्नै पुरख्यौली थलो ढिकुरपोखरी छाडेर पोखरामा स्थायी वा अस्थायी रूपमा बसोबास गर्ने व्यक्तिहरूलाई एउटै सूत्रमा बाँध्ने उद्देश्यले समाज स्थापना गरिएको स्मरण गराए। उनले समाजले स्थापनाकालदेखि नै शिक्षा, स्वास्थ्य र सामाजिक सेवामा निरन्तर योगदान दिँदै आएको उल्लेख गरे।

कार्यक्रममा अक्षयकोषका संरक्षक सल्लाहकार कुलबहादुर गुरुङ ‘कुलु’, नेपाल प्रेस युनियन गण्डकी प्रदेशका अध्यक्ष एवं समाजका संस्थापक सदस्य टंकराज अधिकारी, नेपाल सरकारका उप–सचिव युवराज अधिकारी, संस्थापक सचिव हरि शर्मा, तथा पहिलो रक्तदाता महेन्द्र दाहाललगायतले समाजको सामाजिक भूमिका, एकता र स्वास्थ्य सेवामा पुर्‍याएको योगदानको प्रशंसा गर्दै आ–आफ्ना धारणा राखेका थिए।

अध्यक्ष लक्ष्मी अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो भने उपाध्यक्ष लोकनाथ भण्डारीले स्वागत मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रमको सञ्चालन सचिव गणेशप्रसाद अधिकारीले गरेका थिए।

यसै अवसरमा समाजका सदस्य तथा दन्त चिकित्सक पुरण बी.के.ले मुख स्वास्थ्यको महत्वबारे व्यवहारिक जानकारी दिँदै दाँतलाई स्वस्थ राख्ने उपाय र नियमित दन्त परीक्षणको आवश्यकताबारे सहभागीहरूलाई सचेत गराएका थिए। कार्यक्रममा सहभागीहरूको निःशुल्क दन्त परीक्षणसमेत गरिएको थियो।

स्थापना दिवसको अवसरमा स्वास्थ्यजस्ता जीवनोपयोगी सेवा कार्यक्रम सञ्चालन गर्दै ढिकुर पोखरी समाजले समुदायप्रतिको उत्तरदायित्वलाई अझ सशक्त रूपमा प्रस्तुत गरेको समाजका अध्यक्ष लक्ष्मी अधिकारीले बताइन् । भविष्यमा पनि यस्ता सामाजिक तथा जनस्वास्थ्यसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिइने उनले स्पष्ट पारिन् ।

15Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected