चुनावी अभियानकै क्रममा कास्की–२ का कांग्रेस उम्मेदवार माधव प्रसाद बास्तोला सिडीबाट लडेर घाइते, देब्रे हात भाँचियो

पोखरा । कास्की क्षेत्र नं. २ का नेपाली कांग्रेसका उम्मेदवार माधव प्रसाद बास्तोला चुनावी अभियानका क्रममा आइतबार अपराह्न दुर्घटनामा परेर घाइते हुनुभएको छ। चुनावी अभियान अन्तर्गत मतदाता भेटघाटका क्रममा सिडीबाट चिप्लिएर लड्दा उहाँ घाइते हुनुभएको निर्वाचन सचिवालयले जनाएको छ।
दुर्घटनापछि उहाँलाई तत्काल फूलबारीस्थित मणिपाल शिक्षण अस्पताल लगिएको थियो। अस्पताल स्रोतका अनुसार बास्तोलाको देब्रे हात भाँचिएको छ र उहाँको उपचार जारी रहेको छ। चिकित्सकको निगरानीमा उपचार भइरहेको र अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।
घाइते भई उपचाररत रहे पनि उम्मेदवार बास्तोलाको चुनावी अभियान तथा पूर्वनिर्धारित कार्यक्रमहरू यथावत् रूपमा सञ्चालन हुने निर्वाचन सचिवालयले जानकारी दिएको छ। आवश्यक समन्वय र व्यवस्थापनमार्फत अभियानलाई निरन्तरता दिइने सचिवालयको भनाइ छ।
चुनावी चहलपहल तीव्र भइरहेका बेला भएको यस घटनाप्रति कांग्रेस कार्यकर्ता तथा शुभेच्छुकहरूले बास्तोलाको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।






सम्बन्धित खवर















