लोकतन्त्रको पक्षमा प्रेस युनियन गण्डकीको सक्रियता, निर्वाचन केन्द्रित रणनीतिक भेला पोखरामा सम्पन्न

पोखरा । नेपाल प्रेस युनियन गण्डकी प्रदेशले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै लोकतन्त्रको पक्षमा पत्रकारिताको भूमिका सशक्त बनाउने उद्देश्यसहित पोखरामा रणनीतिक भेला सम्पन्न गरेको छ । लोकतान्त्रिक मूल्य–मान्यता, संविधान र प्रेस स्वतन्त्रताको संरक्षणलाई केन्द्रमा राख्दै आयोजित भेलामा आगामी निर्वाचनका क्रममा युनियनले निर्वाह गर्नुपर्ने भूमिका, कार्यदिशा र अभियानबारे विस्तृत छलफल गरिएको छ ।
मंगलबार सम्पन्न भेला नेपाल प्रेस युनियन गण्डकी प्रदेशका अध्यक्ष टंकराज अधिकारीको अध्यक्षता तथा केन्द्रीय अध्यक्ष शिव लम्सालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रदेश तथा जिल्लास्तरका पदाधिकारी, सदस्य र गण्डकी प्रदेशका अधिकांश जिल्लाका अध्यक्षहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै केन्द्रीय अध्यक्ष शिव लम्सालले प्रतिनिधिसभा निर्वाचन मुलुकको राजनीतिक भविष्यसँग प्रत्यक्ष जोडिएको विषय भएकाले पत्रकारिता अझ जिम्मेवार, सचेत र तथ्यपरक हुनुपर्ने आवश्यकता औँल्याए । निर्वाचनका क्रममा गलत सूचना, अफवाह र भ्रम फैलाउने प्रयास हुन सक्ने भन्दै त्यसको प्रतिरोध गर्दै सत्य र तथ्य जनतासम्म पुर्याउनु प्रेस युनियनको ऐतिहासिक दायित्व भएको उनले बताए ।
“यसपटकको निर्वाचन लोकतन्त्र जोगाउने लडाइँ हो,” उनले भने, “पत्रकारहरूले पेशागत मर्यादा र आचारसंहिता कायम राख्दै लोकतान्त्रिक मूल्यको पक्षमा जनमत निर्माण गर्नुपर्छ ।”
केन्द्रीय समितिका वरिष्ठ उपाध्यक्ष प्रेम केसीले नेपाली काँग्रेस लोकतान्त्रिक मूल्य, प्रेस स्वतन्त्रता र संविधानको रक्षामा निरन्तर संघर्षरत दल भएको उल्लेख गर्दै लोकतान्त्रिक शक्तिको जितका लागि युनियनले वैचारिक तथा नैतिक रूपमा योगदान दिनुपर्ने धारणा राखे ।
केन्द्रीय महासचिव दिलिप पौडेलले निर्वाचन अवधिमा संगठनको भूमिका, रणनीतिक परिचालन, सूचनाको विश्वसनीयता र पत्रकार सुरक्षाका विषयमा प्रस्तुति प्रस्तुत गरेका थिए ।
प्रदेश अध्यक्ष टंकराज अधिकारीले गण्डकी प्रदेशभर चरणबद्ध अभियान सञ्चालन गरिने जानकारी दिए । पत्रकार समाजका दर्पण भएकाले उनीहरूको लेखन र आवाजले जनमत निर्माणमा गहिरो प्रभाव पार्ने उल्लेख गर्दै उनले अतिरञ्जना नगरी यथार्थपरक र जिम्मेवार पत्रकारितामार्फत लोकतान्त्रिक शक्तिको पक्षमा वातावरण निर्माण गर्नुपर्ने बताए ।
रणनीतिक अभियानअन्तर्गत स्थानीय तहसम्म पत्रकारहरूलाई संगठित गर्ने, निर्वाचनसम्बन्धी सचेतनामूलक सामग्री प्रकाशन तथा प्रसारण गर्ने, भ्रामक समाचारको खण्डन गर्ने र लोकतान्त्रिक मूल्य–मान्यताको पक्षमा निरन्तर बहस सिर्जना गर्ने योजना बनाइएको जनाइएको छ । सामाजिक सञ्जालमार्फत विशेषगरी युवामाझ सकारात्मक र तथ्यपरक सन्देश प्रवाह गर्ने विषयमा पनि छलफल भएको थियो ।
गण्डकी प्रदेश महासचिव प्रकाश ढकालको सञ्चालन रहेको भेलामा नेपाली काँग्रेस गण्डकी प्रदेशका प्रचार विभाग प्रमुख रमेश पौडेल, उप–महासचिव दिलीपा श्री अधिकारी, नेपाली कांग्रेस कास्कीका सह-सचिव नबिन सिग्देल युनियनका प्रदेश समिति, युनियन तथा महासंघका जिल्ला अध्यक्ष, पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो । सहभागीहरूले निर्वाचनका क्रममा प्रेस स्वतन्त्रता, पत्रकार सुरक्षा र व्यावसायिक मर्यादामाथि हुन सक्ने दबाब, धम्की वा अवरोधको सामूहिक रूपमा प्रतिवाद गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
नेपाल प्रेस युनियनले यसअघि कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा समेत यस्तै रणनीतिक भेला सम्पन्न गरिसकेको जनाएको छ ।






सम्बन्धित खवर















