
पोखरा। नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर–१ बाट उम्मेदवार बनेका तिलक रानाभाटले घरदैलो अभियानलाई तीव्र बनाउँदै जनताको माझमा आफ्नो उपस्थिति मजबुत बनाउँदै लगेका छन्। उनले मादी गाउँपालिका र रूपा गाउँपालिकाका सम्पूर्ण वडाहरूमा मतदातासँग प्रत्यक्ष भेटघाट सम्पन्न गरिसकेका छन् भने लेखनाथ क्षेत्रलाई पनि अभियानको केन्द्रमा राख्दै गतिविधि बढाएका छन्।
जनतासँगको भेटघाटका क्रममा मतदाताबाट उल्लेखनीय सहभागिता र रचनात्मक सुझाव प्राप्त भएको भन्दै रानाभाटले आफू चुनावी नाराभन्दा जनताको वास्तविक माग र अपेक्षाअनुसार अघि बढिरहेको स्पष्ट पारे। ‘यो गर्छु, त्यो गर्छु भन्नुभन्दा जनताले चाहेको विकास र परिवर्तनका पक्षमा घरदैलोमा हिँडिरहेको छु,’ उनले बताए।
यसै क्रममा कास्की–१ अन्तर्गतका विभिन्न वडाहरूले पनि आ–आफ्नो स्तरबाट चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका छन्।
चुनावी गतिविधिलाई थप सशक्त बनाउने उद्देश्यसहित पोखरा महानगरपालिका–३१ मा नेपाल महिला संघको आयोजनामा महिला भेला सम्पन्न भएको छ। आगामी फाल्गुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै आयोजना गरिएको उक्त भेलामा महिला सहभागिता, संगठन विस्तार तथा निर्वाचनमा सक्रिय भूमिकाबारे छलफल गरिएको थियो।
कार्यक्रममा नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य गुरु बराल, महाधिवेशन प्रतिनिधि शान्ति खनाल, गण्डकी प्रदेश सदस्य धुर्बनाथ अधिकारी, देवेन्द्र रानाभाट, प्रदेश कोषाध्यक्ष मित्रलाल सापकोटा, अगुवा नेता लोकनाथ पाण्डे, इकाईका कार्यवाहक सभापति भानुभक्त पौडेल तथा सचिव वीरभद्र कँडेललगायत नेताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
महिला नेतृ सुधा थापाको अध्यक्षतामा सम्पन्न भेलामा दुर्गा अधिकारीले स्वागत मन्तव्य राखेकी थिइन् भने कार्यक्रम सञ्चालन शक्तिश्री तिवारीले गरेकी थिइन्।






सम्बन्धित खवर















