53Shares

मध्य नेपाल, लम्जुङ्ग । लायन्स क्लब अफ लेखनाथले दुई दशकदेखि सञ्चालन गर्दै आएको बाख्रा पैँचो कार्यक्रमले स्थानीय समुदायको आयआर्जन र जीवनस्तर सुधारमा उल्लेखनीय योगदान पुर्‍याएको छ। मध्यनेपाल नगरपालिका–७, पैरावनस्थित पैरावन कृषि तथा पशुपालन कृषक समूहमार्फत सञ्चालन भइरहेको यो कार्यक्रम प्रभावकारी बन्दै गएको छ।

क्लब मार्फत सुरुवातमा ४२ घरपरिवारलाई ५० वटा बाख्रा वितरण गरी सुरु गरिएको  हाल उक्त संख्या बढेर ७७० वटा बाख्रासम्म पुगेको समूहले जनाएको छ। यसले स्थानीय बासिन्दालाई आत्मनिर्भर बनाउँदै आर्थिक सबलीकरणतर्फ अघि बढाएको कार्यक्रमका संयोजक लायन्स क्लब अफ लेखनाथका पूर्व अध्यक्ष मेजर राम प्रसाद गुरुङले जानकारी दिए ।

शुक्रबार आयोजित कार्यक्रममा क्लबले थप १३ वटा मौरीका घार पनि वितरण गरेको छ। बाख्रा पैँचो, मौरीपालन तथा फलफूलका बिरुवा वितरणलाई दीर्घकालीन आम्दानीको स्रोतका रूपमा विकास गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको पुर्ख्यौली थलो पैरावन भएका गुरुङले जनाए।

कार्यक्रममा बाख्रा तथा मौरीका घार वितरण गर्दै लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर पार्वती खरेल पाण्डेले स्थानीय समुदायलाई आर्थिक रूपमा सबल बनाउने उद्देश्यले अघि सारिएको यो योजना अत्यन्त सफल भएको बताइन्। उनले आगामी दिनमा पनि यस कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिँदै कृषि समूहहरूलाई व्यावसायिक सोचका साथ अघि बढ्न सुझाव दिइन्। लायन्स र स्थानीय समुदायबीचको सहकार्य अनुकरणीय रहेको उनको भनाइ थियो।

कार्यक्रममा पूर्व मल्टिपल काउन्सिल चेयर मनबहादुर रोका, प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर तथा गभर्नर पदका उम्मेदवार सूर्यकुमार केसी, द्वितीय भाइस डिष्ट्रिक्ट गभर्नर शैलेन्द्र मोहन भट्टराई, पूर्व डिष्ट्रिक्ट गभर्नर रामबहादुर बेसल, डिष्ट्रिक्ट चिफ एडभाइजर विष्णुप्रसाद भण्डारीलगायतको उल्लेखनीय उपस्थिति रहेको थियो। लायन्स क्लब अफ लेखनाथका अध्यक्ष बोधराज लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपस्थित वक्ताहरूले बाख्रा पैँचो कार्यक्रम फलदायी र उदाहरणीय भएको धारणा व्यक्त गरे।

पैरावन कृषि तथा पशुपालन कृषक समूहका अध्यक्ष बुद्धिसागर पोखरेलले लायन्स क्लबसँगको सहकार्यपछि स्थानीयको जीवनस्तरमा सुधार आएको बताउँदै ठूलो राहत महसुस भएको बताए। समूहका सचिव बिपना परियारले आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा व्यक्त गरिन् ।

कार्यक्रम २०६१ सालदेखि सुरु भएको हो। २०७२ सालको भूकम्पपछि क्षतिग्रस्त मध्यनेपाल–७, सिमलचौरस्थित शैलेश्वरी आधारभूत विद्यालयको पाँच कोठे भवन निर्माणमा लायन्स क्लब अफ लेखनाथले पहल गरेको थियो। त्यसपछि २०७८ सालदेखि सुरु भएको ‘लायन्स मितेरी भिलेज’ अवधारणाले समुदायसँगको सम्बन्ध अझ सुदृढ बनाएको लायन्स मितेरी गाउँ संयोजक समेत रहेका क्लबका पूर्व अध्यक्ष मेजर रामप्रसाद गुरुङले जानकारी दिए ।

यसै अवसरमा श्री लक्ष्मी आधारभूत विद्यालय, मध्यनेपाल नगरपालिका–७, लक्ष्मीबजार, लमजुङमा खेलकुद तथा शैक्षिक सामग्री वितरण गरिएको थियो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरु गुरुङ र प्रधानाध्यापक अञ्जु गुरुङलाई डिष्ट्रिक्ट गभर्नर पाण्डेले सामग्री हस्तान्तरण गरेकी थिइन्। सोहि अवसरमा  डिष्ट्रिक्ट गभर्नर पाण्डेले श्री ईशानेश्वर महादेव मन्दिर क्षेत्र विकास समितिलाई फागुन ३ गते हुने महाशिवरात्रि मेलाका लागि प्राथमिक उपचार सामग्री तथा पानीसमेत हस्तान्तरण गरेकी छन्।

कार्यक्रमका क्रममा विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको थियो। सम्मानित हुनेमा लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालकी डिष्ट्रिक्ट चिफ एडमिनिस्ट्रेटर शान्ता देवी थापा भण्डारीलाई “लायन्स मितेरी गाउँ” अन्तर्गत श्री लक्ष्मी आधारभूत विद्यालयमा पुर्‍याएको उत्कृष्ट शैक्षिक योगदानको कदर गर्दै सम्मानपत्र प्रदान गरिएको थियो। उनले विद्यालयलाई हालसम्म ६ लाख रुपैयाँभन्दा बढी सहयोग, तीन थान ल्यापटप, फोटोकपी मेसिन, झोला, स्विटर, स्टेशनरी सामग्री तथा विद्यार्थीको दिवा खाजाका लागि मासिक १० हजार रुपैयाँ सहयोग प्रदान गरेकी छन्।

त्यसैगरी, पोखरा महानगरपालिका–३०, रामबजार निवासी लायन शेरबहादुर गुरुङलाई लायन्स क्लब अफ लेखनाथका स्थायी सदस्य, वरिष्ठ समाजसेवी तथा बाख्रा पैँचो कार्यक्रम सफल सञ्चालनमा पुर्‍याएको योगदानको कदर गर्दै कदर–पत्र प्रदान गरिएको थियो।

त्यस्तै, पैरावन कृषि तथा पशुपालन कृषक समूहका अध्यक्ष बुद्धिसागर पोखरेललाई लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालद्वारा सञ्चालित सामाजिक सेवाअन्तर्गत लायन्स मितेरी गाउँ स्थापना तथा समन्वयमा पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गर्दै प्रशंसापत्र प्रदान गरिएको थियो।

53Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected