मादीमा कांग्रेस उम्मेदवार रानाभाटको घरदैलो तीव्र, स्थानीयसँगै विकासको खाका कोर्दै

लेखनाथ, १ फागुन। नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर १ का उम्मेदवार तिलक रानाभाटले घरदैलो अभियानलाई तीव्र बनाएका छन्। बिहीबार र शुक्रबार उनले मादी गाउँपालिका वडा नम्बर ८ र ९ मा घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम सम्पन्न गरेका हुन्।
अभियानका क्रममा रानाभाटले मतदातासँग मत माग्नुका साथै स्थानीय विकासका आवश्यकता र समृद्ध मादी निर्माणका विषयमा सुझावसमेत संकलन गरेका छन्। वडा नम्बर ८ अन्तर्गत पाखुरीकोट, नागिधार, रबैडाँडा पोस, परक्यु तथा वडा नम्बर ९ अन्तर्गत गहते, च्याङ्ग्दी, मिजुरे, गोर्जे, मोग्री, मोग्रिबेसी, पालुवा बेसीलगायतका बस्तीमा पुगेर उनले मतदातासँग प्रत्यक्ष संवाद गरेका थिए।
यसैक्रममा मादी गाउँपालिका वडा नम्बर ८ र ९ मा चुनाव प्रचार–प्रसार सचिवालय उद्घाटन गरिएको थियो। कार्यक्रममा नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री यज्ञबहादुर थापाले समयानुकूल र जनताको मागअनुसार विकास गर्न नेपाली कांग्रेस सदैव प्रतिबद्ध रहेको धारणा व्यक्त गरे।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य कृष्ण केसी, कास्की जिल्ला सभापति किशोर दत्त बराल, जिल्ला सचिव भानुभक्त ढकाल, मादी गाउँपालिका सभापति यमबहादुर गुरुङ, क्षेत्रीय सचिव ओमप्रकाश गुरुङ, वडा नम्बर ८ का सभापति राजेन्द्र अधिकारी, वडा नम्बर ९ का सभापति प्रभात अधिकारीलगायत विभिन्न तहका नेताहरूको उपस्थिति रहेको थियो। साथै क्षेत्रीय प्रतिनिधि तथा स्थानीय नेताहरूले उम्मेदवार रानाभाटलाई सफलताको शुभकामना दिँदै विकासमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
सो अवसरमा बोल्दै उम्मेदवार रानाभाटले सबैसँग मिलेर विकासमा हातेमालो गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। आफू जन्मेर हुर्किएको मादी गाउँपालिकाका स्थानीयको सल्लाह र सुझावकै आधारमा राजनीतिक यात्रालाई अगाडि बढाउने उनले बताए।
यता, नेपाली कांग्रेस पोखरा महानगरपालिका कार्यसमितिले पनि निर्वाचन केन्द्रित कार्यक्रम सुरु गरेको छ। वडा कार्यसमितिहरूलाई लक्षित गर्दै चुनावी रणनीति तथा मतदाता प्रशिक्षण कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा नेपाली कांग्रेसका निवर्तमान सह–महामन्त्री जीवन परियार र नेता प्राध्यापक डा. कुशमाकर न्यौपानेले सहजीकरण गरेका थिए।
नेपाली कांग्रेस पोखरा महानगरपालिकाका सभापति सुरेन्द्रमान बिजुक्छेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा निवर्तमान सभापति बजिरमान श्रेष्ठ, महिला नेतृ माया बराल, उपसभापति प्रयागराज भण्डारी, सचिव टुबराज बास्तोला र परमेश्वर कार्कीले आ–आफ्नो धारणा राखेका थिए।






सम्बन्धित खवर















