0Shares

अन्नपूर्ण, कास्की। कास्की–३ प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट नेपाली कांग्रेसका प्रत्यक्षतर्फका उम्मेदवार मनोज गुरुङले चुनावी घरदैलो कार्यक्रमलाई निरन्तरता दिएका छन्। सोही क्रममा उनले अन्नपूर्ण गाउँपालिका कास्कीका वडा नम्बर १, २ र ३ का पार्टी कार्यकर्तासँग भेटघाट तथा छलफल गरेका छन्।

सो अवसरमा २२ जना स्थानीय प्रायजसो परियार टोलबाट नेपाली कांग्रेसमा प्रवेश गरी पाटी सदस्यता लिएको वड़ा कार्यसमिति १ का उपसभापति अमर परियारले बताए । उनिहरुलाई उम्मेदवार नेपाली कांग्रेसका प्रत्यक्षतर्फका उम्मेदवार मनोज गुरुङ र समानुपातिक तर्फका उम्मेदवार आई बहादुर गुरुङले सदस्यता प्रदान गरेका थिए ।

भेटघाटका क्रममा उम्मेदवार गुरुङले नेपाली कांग्रेसभित्र विगतमा देखिएका सबै आन्तरिक मतभेद, असमझदारी र गुनासाहरू बिर्सेर  एकताबद्ध भएर लाग्न कार्यकर्ताहरूलाई आह्वान गरे। उनले पार्टीको हितभन्दा माथि व्यक्तिगत असन्तुष्टि राख्नु उपयुक्त नहुने उल्लेख गर्दै अहिलेको मुख्य आवश्यकता पार्टीभित्रको एकता, अनुशासन र संगठनात्मक मजबुती भएको बताए।

कार्यकर्तासँगको छलफलमा उनले स्थानीय तहको विकास, रोजगारी सिर्जना, पूर्वाधार विस्तार र जनताको दैनिक जीवनसँग जोडिएका समस्यालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाए। उनले जनतासँग प्रत्यक्ष संवाद गरेर समस्या सुन्ने र समाधान खोज्ने अभियानलाई चुनावपछि पनि निरन्तरता दिने बताए।

समानुपातिक तर्फका उम्मेदवार आई बहादुर गुरुङले नेपाली कांग्रेस पछिल्लो समय परिवर्तनसहित अगाडि बढिरहेको उल्लेख गर्दै बदलिएको कांग्रेसले अब देश बदल्ने जनताको सपना पनि साकार पार्ने विश्वास व्यक्त गरे। लोकतन्त्र, समावेशिता, सामाजिक न्याय र दिगो विकासका मुद्दामा नेपाली कांग्रेस नै जनताको भरोसाको पार्टी भएको उनको दाबी थियो।

भेटघाट कार्यक्रममा स्थानीय नेता तथा कार्यकर्ताहरूले पार्टीलाई जिताउन आ–आफ्नो स्थानबाट सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका थिए। उनीहरूले संगठन सुदृढ गर्दै घरघरमा कांग्रेसको नीति, कार्यक्रम र उम्मेदवारको एजेन्डा पुर्‍याउने बताएका छन्। नेपाली कांग्रेसका उम्मेदवार मनोज गुरुङको घरदैलो कार्यक्रमले कास्की–३ मा चुनावी माहोल थप सक्रिय बन्दै गएको देखिएको छ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected