0Shares

पोखरा । नेपाली काँग्रेसको तर्फबाट कास्की जिल्ला निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा उम्मेदवार माधव प्रसाद बास्तोला (मधु) अस्पतालबाट डिस्चार्ज भएका छन् । चुनावी प्रचार–प्रसार तथा मतदातासँग भेटघाटका क्रममा आफ्नै घर नजिक पोखरा महानगरपालिका–११ फूलबारीमा लडेर घाइते भएका बास्तोला पाँच दिनसम्म अस्पतालमा उपचारपछि शुक्रबार घर फर्किएका हुन् ।

गत माघ २६ गते आइतबार साँझ चुनावी अभियान र नागरिक भेटघाटका क्रममा लडेर घाइते भएका बास्तोलाको बायाँ हातको नाडीमाथिको हड्डी (रेडियस) भाँचिएको थियो । घाइते भएलगत्तै उनलाई मणिपाल शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालका निर्देशक प्रा.डा. अभिषेक मास्केका अनुसार सोही दिन बास्तोलाको हातको सफल शल्यक्रिया गरिएको थियो । पाँच दिनसम्म नियमित उपचार र चिकित्सकको निगरानीपछि उनको स्वास्थ्यमा उल्लेख्य सुधार आएको अस्पतालले जनाएको छ ।

अस्पतालबाट डिस्चार्ज भएपछि बास्तोलाले शरीरमा लागेको चोटले आफ्नो संकल्प र राजनीतिक प्रतिबद्धतालाई कमजोर बनाउन नसक्ने बताएका छन् । चिकित्सकको सल्लाहअनुसार आवश्यक उपचार र विश्रामपछि अझ दृढ आत्मविश्वासका साथ निर्वाचन अभियानमा फर्किने प्रतिबद्धता व्यक्त गर्दै उनले आफूलाई माया, हौसला र शुभेच्छा दिने मतदाता, पार्टीका नेता–कार्यकर्ता तथा परिवारप्रति आभार प्रकट गरेका छन् ।

बास्तोलाको सचिवालयका अनुसार उनी शनिबारदेखि नै कास्की निर्वाचन क्षेत्र नम्बर २ का विभिन्न स्थानमा आयोजना हुने घरदैलो अभियान र चुनावी सभाहरूमा सहभागी हुनेछन् । उनी घाइते भएका बेला पनि उनका प्रतिनिधि तथा पार्टी कार्यकर्ताहरूले चुनावी अभियानलाई निरन्तरता दिएका थिए ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected