काठमाडौं । गरिमा म्युचुअल फण्डअन्तर्गत रु. १ अर्ब बराबरको पहिलो खुलामुखी योजना ‘गरिमा सुवर्ण योजना’ सार्वजनिक निष्कासनमा आउने भएको छ । गरिमा विकास बैंक लिमिटेड कोष प्रवर्द्धक तथा सहायक कम्पनी गरिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको उक्त योजनालाई नेपाल धितोपत्र बोर्डले सार्वजनिक निष्कासनका लागि स्वीकृति प्रदान गरेको हो ।
नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेसँगै यो योजना विकास बैंक कोष प्रवर्द्धक रहने गरी निष्कासन हुने नेपालकै पहिलो खुलामुखी सामूहिक लगानी कोष योजना बनेको छ । योजनाअन्तर्गत प्रारम्भिक चरणमा रु. ५० करोड बराबरको प्रति इकाई रु. १० को दरले ५ करोड इकाई सार्वजनिक निष्कासन गरिनेछ ।
यस योजनामा लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम ५० लाख इकाईसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । खुलामुखी योजनाका कारण लगानीकर्ताले आवश्यकता अनुसार इकाई खरिद तथा बिक्री गर्न सक्ने भएकाले यसले लगानीकर्ताको सहभागिता अझ बढ्ने अपेक्षा गरिएको छ ।
गरिमा म्युचुअल फण्डले यसअघि रु. १ अर्ब २५ करोड बराबरको बन्दमुखी सामूहिक लगानी कोष ‘गरिमा समृद्धि योजना’ सार्वजनिक निष्कासन गरी हाल सञ्चालनमा ल्याइसकेको छ । नयाँ खुलामुखी योजना ‘गरिमा सुवर्ण योजना’ मार्फत पूँजी बजारमा दीर्घकालीन र व्यवस्थित लगानीका थप अवसर सिर्जना हुने विश्वास लिइएको छ ।






















