
लेखनाथ, २ फाल्गुण । तिलक रानाभाट ले मादी गाउँपालिका मा पार्टीगत स्वार्थभन्दा विकासको आवश्यकता बढी रहेको बताएका छन् । घरदैलो कार्यक्रम तथा कार्यकर्ता भेटघाटका क्रममा उनले आफू “मादी पुत्र”का रूपमा क्षेत्रको समग्र विकासका लागि प्रतिबद्ध रहेको उल्लेख गर्दै स्थानीय स्रोत–साधनको अधिकतम उपयोगमार्फत आत्मनिर्भर गाउँ निर्माण गर्नुपर्नेमा जोड दिए ।
रानाभाटले विभिन्न वडामा आयोजित घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै कृषकलाई केन्द्रमा राखेर आयआर्जन अभिवृद्धि गर्ने योजनालाई प्राथमिकतामा राखेको बताए । उनका अनुसार सडक पहुँच विस्तार, कृषि आधुनिकीकरण, बाख्रापालन, माहुरीपालन तथा जडीबुटी उत्पादनमार्फत ग्रामीण अर्थतन्त्र सुदृढ गर्न सकिन्छ । “गाउँको विकास बिना देशको विकास सम्भव छैन,” उनले भने, “स्थानीय अधिकार र प्राकृतिक स्रोतको उपयोग स्थानीयकै हितमा हुनुपर्छ।”

उनले महिला अधिकार, गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा विस्तार, व्यावसायिक शिक्षा तथा व्यवसायमुखी कृषिलाई क्षेत्रीय विकासका आधार स्तम्भका रूपमा अघि सारे ।
कार्यक्रममा बोल्दै पूर्व सांसद एवं पूर्व कानुन मन्त्री यज्ञ बहादुर थापा ले समय र परिवेशअनुसार राजनीतिक सोच र कार्यशैली परिवर्तन हुनुपर्ने धारणा राखे । नेपाल गाउँ–गाउँ मिलेर बनेको देश भएकाले ग्रामीण क्षेत्रको जीवनस्तर उकास्न नसकेसम्म समग्र राष्ट्रिय विकास सम्भव नहुने उनको भनाइ थियो । विगतका राजनीतिक उतारचढाव र निर्वाचन प्रक्रियाबाट प्राप्त जनादेशलाई सम्मान गर्दै अब विकासमुखी राजनीतिक अभ्यास आवश्यक रहेको उनले बताए ।
यसैगरी ऋषिराम सुवेदी ले मादी क्षेत्रका दीर्घकालीन समस्या समाधानका लागि सक्षम र प्रतिबद्ध नेतृत्व आवश्यक रहेको बताए । मकैखोला, थुम्सीकोट र भगवतीटार लगायतका बस्तीमा आधारभूत पूर्वाधार, ज्ञान–सीप विकास तथा रोजगारी सिर्जनामा विशेष ध्यान दिनुपर्ने उनले उल्लेख गरे । काम, सिद्धान्त र विचारका आधारमा नयाँ नेतृत्वले परिवर्तन ल्याउने विश्वास व्यक्त गर्दै उनले मतदातासँग समर्थनको आग्रह गरे ।
कार्यक्रममा स्थानीय प्रतिनिधि तथा सरोकारवालाले पनि आफ्ना समस्या र अपेक्षा प्रस्तुत गरेका थिए । जनकल्याण आमा समूहकी अध्यक्ष विष्णु सुवेदीले बसाइँसराइ नियन्त्रण, सडक स्तरोन्नति र सिँचाइ व्यवस्थापनलाई प्राथमिकतामा राख्नुपर्ने बताइन् । राधिका रानाभाटले लोकमार्ग निर्माण, महिला आयआर्जनका अवसर विस्तार र स्थानीय उद्यम प्रवर्द्धनका विषय उठाइन् ।
वडा नं. १० का सदस्य कृष्णबहादुर गुरुङ, इकाइ सभापति लोकप्रसाद गुरुङ, विभिन्न भ्रातृ संगठनका प्रतिनिधि, आमा समूहका सदस्य, कार्यकर्ता तथा सर्वसाधारणको उल्लेख्य सहभागितामा थुम्सीकोट, मकैखोला र भगवतीटार लगायतका बस्तीमा घरदैलो अभियान सञ्चालन गरिएको थियो । मादी–८, ९, १० र ११ नम्बर वडामा समेत अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको कार्यक्रमका सञ्चालक महेन्द्र गौतमले जानकारी दिए ।
नेताहरूले विकास, सुशासन र समावेशी सहभागितामार्फत मादीलाई उदाहरणीय गाउँ बनाउने प्रतिबद्धता व्यक्त गर्दै स्थानीय तहको सशक्तीकरण र जनसहभागितामूलक विकास नै दिगो समृद्धिको आधार हुनेमा जोड दिएका छन् । साथै, आगामी फाल्गुण २१ मा हुने संघीय निर्वाचनमा रानाभाटलाई विजय गराउन आग्रह गरिएको छ ।






सम्बन्धित खवर















