25Shares

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि फागुन ४ गतेदेखि १८ गतेसम्म प्रचार–प्रसारको समय निर्धारण गर्दै सरोकारवालालाई निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न निर्देशन दिएको छ।

२०८२ साल फाल्गुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राजनीतिक दल तथा उम्मेदवारहरूले फाल्गुन ३ गते राति १२ बजेपछि अर्थात् फागुन ४ गतेदेखि औपचारिक रूपमा प्रचार–प्रसार सुरु गर्न पाउनेछन्। आयोगका अनुसार यो अवधि फागुन १८ गते राति १२ बजेसम्म कायम रहनेछ।

आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार निर्वाचन आचारसंहिता २०८२ ले राजनीतिक दल, उम्मेदवार, दलका भ्रातृ संगठन तथा सम्बन्धित व्यक्तिहरूले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला तथा अन्य प्रचार–प्रसारका गतिविधि सञ्चालन गर्दा अपनाउनुपर्ने आचरण स्पष्ट रूपमा व्यवस्था गरेको छ।

भण्डारीले निर्वाचनको निष्ठा र पारदर्शितालाई उच्च प्राथमिकतामा राख्न सबै दल, उम्मेदवार, नेता, प्रतिनिधि तथा शुभेच्छुकहरूलाई आचारसंहिताको पूर्ण पालना गर्न आग्रह गरे। “आयोग आचारसंहिता कार्यान्वयन र अनुगमनका लागि विभिन्न संयन्त्र परिचालन गरिरहेको छ। आचारसंहिता उल्लंघन भएको भन्दै स्पष्टिकरण सोध्ने वा कानुनी कारबाही गर्नुपर्ने अवस्था नआओस् भन्ने आयोगको चाहना हो,” उनले भने।

उनले आचारसंहिता राजनीतिक दल तथा सरोकारवालासँग व्यापक परामर्श गरी उनीहरूकै सहमतिमा तयार पारिएको दस्तावेज भएकाले यसको प्रभावकारी कार्यान्वयनमा सबै पक्ष जिम्मेवार बन्नुपर्ने उल्लेख गरे।

25Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected