काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘नागरिक करार’ सार्वजनिक गर्दै सुशासन, मध्यम वर्ग विस्तार, रोजगारी सिर्जना, कनेक्टिभिटी विकास र प्रवास नीतिलाई प्रमुख प्राथमिकताका रूपमा अघि सारेको छ।
पार्टीले सार्वजनिक गरेको करारपत्रमा राज्य संयन्त्रमा देखिएको ढिलासुस्ती, प्रक्रियागत जटिलता र भ्रष्टाचार अन्त्य गर्दै प्रभावकारी सेवा प्रवाह गर्ने प्रतिबद्धता जनाइएको छ। डिजिटल प्रविधिमार्फत सरकारी सेवा सरल र पारदर्शी बनाउने, नीतिगत तथा संस्थागत सुधारमार्फत सुशासन कायम गर्ने लक्ष्य उल्लेख गरिएको छ।
मध्यम वर्ग विस्तारतर्फ औसत वार्षिक आय वृद्धि, गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवामा पहुँच विस्तार, र आधुनिक वित्तीय सेवामा सर्वसाधारणको पहुँच सुनिश्चित गर्ने योजना समेटिएको छ।

रोजगारी सिर्जनालाई अर्को प्राथमिकताका रूपमा राख्दै पार्टीले सूचना प्रविधि, निर्माण, पर्यटन, कृषि, उद्योग तथा सेवा क्षेत्रमा लाखौं रोजगारी सिर्जना गर्ने लक्ष्य प्रस्तुत गरेको छ।
पूर्वाधार विकासअन्तर्गत गुणस्तरीय सडक सञ्जाल, विद्युत् प्रसारण लाइन विस्तार, राष्ट्रिय राजमार्ग निर्माण तथा राष्ट्रिय महत्वका आयोजनाहरू सम्पन्न गर्ने उल्लेख छ।
त्यसैगरी, विदेशमा रहेका नेपाली नागरिकका अधिकार सुनिश्चित गर्दै वैदेशिक रोजगारीलाई व्यवस्थित र सुरक्षित बनाउने प्रतिबद्धता पनि करारपत्रमा समावेश गरिएको छ।
पार्टीले करारअनुसार काम नगरे आगामी निर्वाचनमा नागरिकले मूल्यांकन गर्ने बताउँदै राजनीतिक उत्तरदायित्व स्वीकार गर्ने जनाएको छ।






















