15Shares

पोखरा, ५ फागुन। नेकपा एमाले कास्की निर्वाचन क्षेत्र नम्बर २ ले प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ का लागि आफ्नो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ।

प्रतिबद्धता पत्र सार्वजनिक कार्यक्रममा कोशी प्रदेशका पूर्व प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’, एमालेका केन्द्रीय सदस्य प्रभा कोईराला, एमालेका पूर्व केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश सभा सदस्य भीम कार्की, प्रतिनिधिसभा सदस्य उम्मेदवार रश्मी आचार्य, समानुपातिक तर्फका उम्मेदवार दिपक पौडेल, एमाले कास्कीका कार्यवाहाक अध्यक्ष भेषराज बरालसहितले सो प्रतिवद्धतापत्र सार्वजनिक गरेका हुन् ।

संविधान रक्षा र स्थिरता पहिलो प्राथमिकता

कार्यक्रममा बोल्दै उम्मेदवार आचार्यले देश अहिले इतिहासकै कठिन मोडमा उभिएको उल्लेख गर्दै संविधान, राष्ट्रिय स्वाधीनता र राजनीतिक स्थिरताको रक्षा आफ्नो पहिलो प्राथमिकता हुने बताए।

उनले राष्ट्रहितलाई केन्द्रमा राख्दै संविधानमा आवश्यक संशोधन, स्थिर सरकार निर्माण र आर्थिक विकासका लागि प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे। सुशासन प्रवर्द्धन र भ्रष्टाचार नियन्त्रणमार्फत जनतालाई सहज र छिटो सेवा उपलब्ध गराउने वातावरण निर्माण गरिने उनले बताए।

भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्दै जमिन र आवासको अधिकार सुनिश्चित गर्ने योजना पनि प्रतिबद्धता पत्रमा समेटिएको छ।

पर्यटन राजधानीका रूपमा पोखराको विकास

एमालेले पोखरालाई अन्तर्राष्ट्रिय पर्यटन, स्वास्थ्य, ध्यान, योग, शिक्षा र संस्कृतिको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य अघि सारेको छ।

पोखरालाई विश्वस्तरीय पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न नयाँ पर्यटकीय स्थल पहिचान, सेवा विस्तार र पूर्वाधार विकासमार्फत पर्यटक बसाइ अवधि लम्ब्याउने योजना प्रस्तुत गरिएको छ।

साथै, साहसिक पर्यटन, धार्मिक पर्यटन, ग्रामिण पर्यटन र कृषि पर्यटनलाई एकीकृत रूपमा प्रवर्द्धन गर्ने रणनीति पनि सार्वजनिक गरिएको छ।

कृषि, शिक्षा र रोजगारीमा विशेष जोड

कृषि उत्पादन वृद्धिका लागि पकेट जोन कार्यक्रम, दुग्ध संकलन केन्द्र स्थापना, शीत भण्डारण निर्माण, अर्गानिक खेती प्रवर्द्धन तथा बजार व्यवस्थापनमा जोड दिइने उल्लेख छ।

शिक्षातर्फ सरकारी तथा सामुदायिक विद्यालयलाई प्राविधिक शिक्षालयमा रूपान्तरण गर्दै रोजगारीमुखी शिक्षा विस्तार गरिने योजना अघि सारिएको छ। युवाको विदेश पलायन रोक्न स्वरोजगार, उद्यमशीलता विकास र सहुलियतपूर्ण कर्जा व्यवस्थाको प्रतिबद्धता गरिएको छ।

स्वास्थ्य, सामाजिक सुरक्षा र पूर्वाधार विकास

सबै वडामा एकीकृत स्वास्थ्य सेवा केन्द्र स्थापना, मातृशिशु अस्पताल तथा आँखा अस्पताल स्तरोन्नति, सर्वसुलभ विशिष्टीकृत अस्पताल स्थापना पहल गर्ने उल्लेख छ।

जेष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति तथा विपन्न समुदायका लागि सामाजिक सुरक्षा कार्यक्रम विस्तार र योगदानमा आधारित सामाजिक सुरक्षा कार्यान्वयनमा जोड दिइने बताइएको छ।

सडक सञ्जाल विस्तार, बसपार्क आधुनिकीकरण, सुरुङमार्ग सम्भाव्यता अध्ययन तथा नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि कूटनीतिक पहल गरिने प्रतिबद्धता पनि सार्वजनिक गरिएको छ।

वातावरण संरक्षण र दिगो विकास

सेती नदी लगायतका नदी–खोलाको संरक्षण, युटिलिटी करिडोर निर्माण, फोहरबाट ऊर्जा तथा कम्पोष्ट मल उत्पादन उद्योग स्थापना तथा फेवाताल क्षेत्र संरक्षणमा विशेष कार्यक्रम ल्याइने जनाएको छ।

सबैको साथ, सबैको विकास’

उम्मेदवार आचार्यले कास्की–२ का स्थानीय मुद्दालाई संसदमा सशक्त रूपमा उठाउने र नयाँ पुस्ताको नेतृत्व स्थापित गर्ने प्रतिबद्धता जनाउँदै ‘सबैको साथ, सबैको विकास’ अवधारणाअनुसार अघि बढ्ने बताए।

निर्वाचन परिचालन समितिका सह–संयोजक झपट रानाभाटले एमालेको अभियान सुशासन, स्थिरता र समृद्धिसँग जोडिएको उल्लेख गर्दै कास्कीको दीगो विकासमा निर्णायक भूमिका खेल्ने विश्वास व्यक्त गरे।

एमालेले आगामी फागुन २१ गते हुने निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवैतर्फ सूर्य चिन्हमा मतदान गर्न मतदातासमक्ष अपिल गरेको छ।

15Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected