2Shares

स्याङ्जा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै देशभर चुनावी माहोल तातेको छ। स्याङ्जा क्षेत्र नं.–१ मा पनि एक स्वतन्त्रसहित १२ जना उम्मेदवार प्रचार–प्रसारमा सक्रिय रहेका छन्।

यसैक्रममा भरतराज ढकालले आकर्षक र प्रभावकारी चुनावी अभियानका साथ मतदातामाझ पुगिरहेका छन्। अन्य उम्मेदवारले मुख्यतः घोषणा–पत्रका आधारमा प्रचार गरिरहँदा ढकालले घोषणा–पत्र, प्रतिबद्धता तथा ‘दशबुँदे संकल्प’ (भरत भिजन) सार्वजनिक गर्दै अभियानलाई व्यवस्थित बनाएका छन्।

काँग्रेस स्याङ्जा क्षेत्र नं.–१ का क्षेत्रीय सभापति एवं प्रचार विभाग प्रमुख तुलसीराम रेग्मीका अनुसार ढकालले आफ्ना योजना अल्पकालीन, मध्यकालीन र दीर्घकालीन कार्ययोजनामा विभाजन गरी मतदातासमक्ष प्रस्तुत गरेका छन्।

मुक्तिनाथ विकास बैंक तथा मुक्तिनाथ कृषि कम्पनीका पूर्व अध्यक्षसमेत रहेका ढकालले पहिलो बुँदामा ‘स्वामित्व’लाई प्राथमिकता दिएका छन्। जिल्लावासीको स्वामित्वमा पब्लिक कम्पनी स्थापना गरी कृषि लगायतका गौरवका आयोजना सञ्चालन गर्ने उनको परिकल्पना छ।

दोस्रो बुँदामा ‘एक वडा, एक उत्पादन’ अवधारणा अघि सार्दै उद्यमशीलता र आयआर्जन वृद्धि गर्ने लक्ष्य राखिएको छ। तेस्रो बुँदामा अनिवार्य, व्यवहारिक, बजारमुखी र प्रविधिमैत्री शिक्षाको सुनिश्चितता गर्ने प्रतिबद्धता जनाइएको छ भने चौथो बुँदामा स्वास्थ्य बीमाको दायरा विस्तारसहित सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने योजना समेटिएको छ।

पूर्वाधारतर्फ पाँचौँ बुँदामा स्वच्छ खानेपानी, नवीकरणीय ऊर्जा, सडक सञ्जाल, इन्टरनेट र खेलकुद पूर्वाधार विस्तारलाई जोड दिइएको छ। छैटौँ बुँदामा बिजनेस इन्क्युबेशन, प्रविधिमा पहुँच र प्रतिस्पर्धी क्षमता अभिवृद्धि गर्दै युवा उद्यमशीलता विकासलाई प्राथमिकता दिइएको प्रचार विभाग सचिवालय प्रमुख ध्रुव खाँणले जानकारी दिए।

सातौँ बुँदामा कला तथा पर्यटन प्रवर्द्धन अन्तर्गत स्थानीय कला, संस्कृति, सम्पदा, जैविक विविधता र प्राङ्गारिक उत्पादन संरक्षणमार्फत पर्यटन क्षेत्र विकास गर्ने लक्ष्य राखिएको छ। आठौँ बुँदामा महिला, ज्येष्ठ नागरिक, पिछडिएका वर्ग, गरिब तथा विपन्न समुदाय लक्षित कार्यक्रम र राहत कोष स्थापना गर्ने संकल्प उल्लेख गरिएको छ।

जोखिम व्यवस्थापन शीर्षकअन्तर्गत बाँदर लगायत जंगली जनावर तथा प्राकृतिक प्रकोपबाट हुने क्षति न्यूनीकरणका लागि विशेष कार्यक्रम र जोखिम कोष स्थापना गर्ने योजना अघि सारिएको छ। दशौँ बुँदामा तीनै तहका सरकार तथा गैरसरकारी निकायबीच समन्वय गर्दै आधारभूत सेवा प्रवाह र आर्थिक सार्वजनिक सुनुवाइमार्फत सुशासन सुनिश्चित गर्ने प्रतिबद्धता जनाइएको छ।

चुनावी प्रतिस्पर्धा तीव्र बन्दै गइरहेका बेला ढकालको ‘भरत भिजन’ मतदातामाझ कत्तिको प्रभाव पार्ने हो, त्यो भने आगामी निर्वाचन परिणामले स्पष्ट पार्नेछ।

2Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected