
पोखरा, १३ फागुन । कास्की क्षेत्र नं. ३ का नेकपा (एमाले) का उम्मेदवार दामोदर पौडेल ‘वैरागी’ले माछापुच्छ्रे गाउँपालिकाका विभिन्न वडामा बुधबार घरदैलो कार्यक्रम गरेका छन् । उनले घलेल, खोराको मुख, ल्वाङ, लाहाचोक र घाचोकका बस्तीमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट तथा छलफल गरेका हुन् ।
घरदैलोका क्रममा स्थानीय बासिन्दाले विशेष गरी होमस्टे सञ्चालनलाई प्रभावकारी बनाउन सडक पूर्वाधार सुधार गर्नुपर्ने माग राखेका छन् । पर्यटक सहज रूपमा आवतजावत गर्न सक्ने सडक निर्माण, पर्यटनमैत्री नीति र दीगो विकास योजनामा प्राथमिकता दिनुपर्ने उनीहरूले सुझाव दिएका थिए् ।
विहानैदेखि विभिन्न टोलबस्तीमा पुगेका वैरागीले स्थानीयका समस्या सुन्दै आर्थिक विकासलाई मुख्य प्राथमिकतामा राख्ने बताएका छन् । उनले भने, ‘गाउँ चिनेको छु, समाज बुझेको छु । आशा मर्न दिँदिनँ । आर्थिक विकास बिना गरिबी घटाउन, युवा पलायन रोक्न, शिक्षा–स्वास्थ्यमा लगानी बढाउन र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न सकिँदैन । त्यसका लागि आवश्यक नीति र कार्यक्रम ल्याइनेछ ।’
उनले एमालेसँग काम गरेर देखाएको इतिहास रहेको उल्लेख गर्दै सडक, शिक्षा, पूर्वाधार र समग्र विकासका क्षेत्रमा निरन्तरता आवश्यक रहेको बताए । अधुरा योजना पूरा गर्ने र सुरु गरिएका कार्यक्रमलाई निष्कर्षमा पु¥याउने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।
वैरागीले अन्नपूर्ण आधार शिविर, फेवाताल लगायत कास्की–३ का विभिन्न गाउँमा देखिएका जलवायु परिवर्तन, भू–संरक्षण तथा बाढीपहिरोका समस्या समाधानका लागि निरन्तर पहल गर्ने बताए। उनले स्थानीय आवश्यकता र दीगो विकासलाई केन्द्रमा राखेर अगाडि बढ्ने विश्वास व्यक्त गरे ।






सम्बन्धित खवर















