0Shares

“देश हाँक्ने सक्षम टिम नेपाली काँग्रेससँग मात्रै छ”

पोखरा, शुक्रबार । नेपाली कांग्रेसका सभापति गगन थापाले देशलाई स्थिरता, सुशासन र समृद्धिको दिशातर्फ अघि बढाउन अनुभवी, दूरदर्शी र जिम्मेवार नेतृत्व अपरिहार्य भएको बताएका छन्।

नेपाली कांग्रेस कास्कीको आयोजनामा शुक्रबार पोखरामा सम्पन्न चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले वर्तमान राष्ट्रिय परिस्थितिमा सक्षम र उत्तरदायी नेतृत्वको आवश्यकता औंल्याए। राजनीतिक स्थायित्व, पारदर्शिता र प्रभावकारी शासन प्रणालीमार्फत मात्र राष्ट्रलाई दीगो विकास र समृद्धिको मार्गमा अघि बढाउन सकिने उनले बताए।“जनताको विश्वास र सहभागितालाई सुदृढ गर्दै लोकतान्त्रिक मूल्यमान्यतालाई मजबुत बनाउनुपर्छ,” उनले भने।

थापाले आगामी चुनावको परिणामले दुई प्रकारका अतिवादलाई बल पुर्‍याउने खतरा रहेको चेतावनी दिए। नेपालले अब कुनै पनि प्रकारको द्वन्द्व थेग्न नसक्ने उल्लेख गर्दै उनले काँग्रेसले देशलाई सम्हालेर लैजाने दाबी गरे।

Screenshot

उनले भने, “एउटा अतिवाद छ, जसले भदौ २३–२४ गतेको घटनाको अवमूल्यन गर्छ—त्यो भएको होइन, षड्यन्त्र हो भन्छ। त्यहाँ युवाहरूको सहभागिता र असन्तुष्टि देख्दैन। अर्को खतरनाक अतिवाद छ, जसले त्यही अवसर छोपेर सिंहदरबार जलाउन उक्साउँछ, मौका पर्दा जेलबाट भाग्नेसम्म गर्छ। यी दुवै अतिवाद हिजो पनि देख्यौँ, भोलि पनि आउन सक्छन्। अबको पाँच वर्ष देशलाई सम्हाल्ने समय हो।”

थापाले काँग्रेस परिणाममुखी काम गर्न तयार रहेको दाबी गर्दै प्रत्येक महिना देश र जनतालाई हिसाब–किताब बुझाउने प्रतिबद्धता व्यक्त गरे।

“सिस्टम बनाएर नियमसंगत ढंगबाट गतिका साथ काम गर्न हामी सात वर्षदेखि तयारीमा छौँ,” उनले भने, “हामीले दिनरात सात वर्ष काम गरेका छौँ। ‘प्रोजेक्ट गभर्मेन्ट’मार्फत किसानलाई समयमा मल उपलब्ध गराउनेदेखि पहाडी क्षेत्रमा बाँदर नियन्त्रण गर्ने विषयसम्म टिम बनाएर तयारी गरेका छौँ। अब काम गर्ने अवसर चाहिएको छ।”

यसैबीच, पोखरास्थित सूर्यदर्शन सहकारीका पीडित बचतकर्ताहरूले थापालाई बचत रकम फिर्ताको माग गर्दै ज्ञापनपत्र बुझाएका छन्।

प्रमाण खोजीको विषय उठिरहेका बेला पीडितहरूले न्यायपूर्ण र पारदर्शी छानबिनमार्फत आफ्नो रकम सुरक्षित रूपमा फिर्ता गरिनुपर्ने माग दोहोर्‍याएका हुन्।

थापाले काँग्रेस नेतृत्वको सरकारले शक्तिशाली आयोग गठन गरी विगतका प्रत्येक काण्डको निष्पक्ष छानबिन गर्ने प्रतिबद्धता व्यक्त गरे। आफ्नै नाता–सम्बन्धी वा नेता कसैलाई पनि छानबिनबाट उन्मुक्ति नदिने उनले स्पष्ट पारे। “काँग्रेस नेतृत्वको सरकारले नयाँ कुनै काण्ड नगर्ने र अरूलाई पनि गर्न नदिनेछ,” उनले भने।

उनले कसैलाई मौका दिने नाममा देशलाई प्रयोगशाला बनाउन नहुने उल्लेख गर्दै सरकारमा गएकै दिनदेखि परिणाम दिन सक्ने दक्ष र अनुभवी टोलीलाई जिम्मेवारी दिनुपर्नेमा जोड दिए। “अब हामीसँग सिक्ने र सिकाउने समय छैन। सरकारमा गएकै दिनदेखि परिणाम दिन सक्ने टोलीलाई जिम्मेवारी दिनुपर्छ,” थापाको भनाइ थियो।

चुनावी सभामा थापाको सम्बोधनले स्थिरता, उत्तरदायित्व र अतिवादविरुद्ध सन्तुलित राजनीतिक मार्ग रोज्नुपर्ने सन्देश दिएको सहभागीहरूले बताएका छन्। काँग्रेसबाहेक अन्य दलसँग सबैलाई समेटेर अघि बढ्ने क्षमता नरहेको दाबी गर्दै उनले “पुराना वा नयाँ, सबैलाई सम्हालेर लैजान सक्ने क्षमता काँग्रेससँग मात्रै छ” भने।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected