0Shares

पोखरा । रंगहरूको महान् पर्व होली आज काठमाडौं उपत्यकासहित देशका पहाडी तथा हिमाली जिल्लाहरूमा हर्षोल्लासका साथ मनाइँदै छ। फागु अर्थात् होलीको अवसरमा नेपाल सरकारले पहाडी जिल्लाहरूमा आज सार्वजनिक बिदा दिएको छ। बिहानैदेखि बालबालिका, युवा तथा वृद्धवृद्धा घरआँगन, टोल–समुदाय र सार्वजनिक स्थलहरूमा भेला भई अबिर र विभिन्न रंग दलेर पर्वको उमंग साटासाट गरिरहेका छन्।

हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाको दिन पहाडी तथा हिमाली जिल्लामा र त्यसको भोलिपल्ट तराई तथा भित्री मधेशका जिल्लाहरूमा होली मनाउने परम्परा रहिआएको छ। धार्मिक, सांस्कृतिक र सामाजिक दृष्टिले विशेष महत्व बोकेको यो पर्वले असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको तथा दुराचारमाथि सदाचारको विजयको सन्देश दिन्छ।

पुराणमा वर्णित कथाअनुसार असत्य र अत्याचारका विरुद्ध सत्यको जित भएको खुसियालीमा होली मनाउने परम्परा सुरु भएको विश्वास गरिन्छ। यही मान्यताअनुसार समाजमा रहेका रिस–राग, मनमुटाव र वैमनस्य बिर्सेर आपसी प्रेम, सद्भाव र आत्मीयता साट्ने अवसरका रूपमा यो पर्वलाई लिइन्छ।

होलीको दिन आफन्तजन, साथीभाइ र छिमेकीहरूबीच अबिर तथा रंग दल्दै शुभकामना आदान–प्रदान गर्ने चलन छ। पछिल्ला वर्षहरूमा सांगीतिक कार्यक्रम, सांस्कृतिक प्रस्तुति तथा युवाहरूको सक्रिय सहभागिताले होली पर्व अझै आकर्षक बन्दै गएको छ। काठमाडौंको बसन्तपुर, टुँडिखेल लगायतका स्थानहरूमा विशेष उत्सवको रौनक देखिएको छ।

होली पर्वको औपचारिक सुरुवात विभिन्न रङ्गीचङ्गी कपडाले सजाइएको ‘चीर’ ठड्याएपछि हुन्छ। चीरलाई सत्य र विजयको प्रतीकका रूपमा लिइन्छ। पूर्णिमाको राति विधिपूर्वक चीर दाह गरेपछि पर्व समापन गरिन्छ। यसरी चीर दाह गर्नुले असत्य, अहंकार र दुष्प्रवृत्तिको अन्त्य भएको प्रतीकात्मक सन्देश दिने विश्वास छ।

होलीको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री सुशीला कार्की लगायत विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूले शुभकामना सन्देश दिएका छन्। शुभकामना सन्देशमा उनीहरूले होलीलाई आपसी सद्भाव, राष्ट्रिय एकता र सामाजिक समरसताको पर्वका रूपमा मर्यादित ढंगले मनाउन आग्रह गरेका छन्।

नेतृत्व तहबाट आएको सन्देशमा समाजमा विद्यमान विभाजन र कटुतालाई अन्त्य गरी सहिष्णुता, सद्भाव र सहकार्यको भावनालाई मजबुत बनाउनुपर्नेमा जोड दिइएको छ।

बिभिन्न जिल्लाका जिल्ला प्रसाशन कार्यालय, प्रहरी प्रशासनले होली पर्वको नाममा उश्रृङ्खल गतिविधि नगर्न, जथाभावी रंग र अबिर नदल्न तथा कसैको इच्छाविपरीत व्यवहार नगर्न सबैलाई सचेत गराएको छ। मदिरा सेवन गरी सार्वजनिक स्थानमा होहल्ला गर्ने, जबर्जस्ती रंग लगाउने वा सवारी साधनमा अवरोध गर्ने जस्ता गतिविधि नियन्त्रणमा लिइने चेतावनी दिइएको छ।

प्रशासनले उल्लङ्घन गर्नेहरूमाथि प्रचलित कानुन अनुसार कारबाही गरिने स्पष्ट पारेको छ। सुरक्षित र सभ्य रूपमा पर्व मनाउन सबै नागरिकसँग सहकार्यको अपेक्षा गरिएको छ।

होली केवल रंग खेल्ने पर्व मात्र नभई सामाजिक मेलमिलाप, सहिष्णुता र पारिवारिक एकताको सन्देश दिने अवसर हो। विविधता र बहुलताले भरिएको नेपाली समाजमा यस पर्वले आपसी समझदारी र मित्रताको डोरीलाई अझ सुदृढ बनाउने विश्वास गरिन्छ।

यस वर्षको होलीले सम्पूर्ण नेपालीबीच प्रेम, सद्भाव र एकताको रंग झन् गाढा बनाओस् भन्ने कामनासहित देशभर उल्लासपूर्ण वातावरणमा फागु पर्व मनाइँदै छ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected