0Shares

पोखरा, कास्की — कास्की निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा कृष्ण बहादुर राउत प्रतिनिधि सभा सदस्य पदका लागि चुनावी मैदानमा उत्रिएका छन्। आगामी फागुन २१ गते हुने निर्वाचनमा उनले त्रिभुज चुनाव चिन्ह लिएर मैदानमा उत्रेका हुन्।

राउतले आफू जनताको समस्या र सरोकारसँग प्रत्यक्ष रूपमा जोडिएको व्यक्तित्व भएको दाबी गर्दै चुनावी प्रतिस्पर्धामा उत्रिएको बताएका छन्। विशेषगरी कोभिड–१९ महामारीको समयमा उनले विभिन्न जिल्लामा संक्रमित बिरामीका लागि आयुर्वेद औषधि निःशुल्क वितरण, आइसोलेसन केन्द्रमा सहयोग तथा बिरामीको मनोबल बढाउने कार्यक्रम सञ्चालन गरेको उल्लेख गरेका छन्।

उनका अनुसार आफ्नो अगुवाइमा गण्डकी प्रदेशका विभिन्न जिल्लामा करिब १० लाख रुपैयाँ बराबरको आयुर्वेद औषधि वितरण गरिएको थियो। दोस्रो वर्ष नेपाल आयुर्वेद औषधि व्यवसायी संघ गण्डकी प्रदेशको संयोजकत्वमा करिब २५ लाख रुपैयाँ बराबरको औषधि ९ जिल्ला र २० पालिकामा निःशुल्क वितरण गरिएको उनले दाबी गरेका छन्। पोखरा क्षेत्रमा लकडाउनका बेला बिरामीलाई घरदेखि अस्पतालसम्म र अस्पतालदेखि घरसम्म निःशुल्क सेवा उपलब्ध गराइएको पनि उनले बताएका छन्।

हाल प्रतिनिधि सभा निर्वाचन अन्तर्गत कास्की क्षेत्र नम्बर १ मा पोखरा महानगरपालिकाका वडा नम्बर १०, १२, १३, १४, २६, २७, २८, २९, ३०, ३१, ३२ तथा रुपा र मादी गाउँपालिका पर्दछन्। उक्त क्षेत्रमा १६ राजनीतिक दलका उम्मेदवार र एक स्वतन्त्र उम्मेदवार राउत चुनावी प्रतिस्पर्धामा छन्।

राउतले देशको वर्तमान राजनीतिक अवस्था, महँगी, वैदेशिक ऋण, कृषि संकट तथा सामाजिक सद्भावमा देखिएको चुनौतीलाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

राउतका प्रमुख चुनावी एजेन्डा:

  • जेनजी र जनताका माग सदनसम्म पुर्‍याउने तथा नयाँ, समृद्ध नेपालको निर्माणमा सहकार्य गर्ने।

  • प्रदेश संरचना खारेज गर्ने र ११० समानुपातिक सांसद व्यवस्था हटाउने।

  • १६५ प्रत्यक्ष निर्वाचित सांसद संख्या घटाएर १०० बनाउने।

  • बढीमा १५ मन्त्रालय रहने व्यवस्था गर्दै स्वतन्त्र तथा विज्ञ व्यक्तिलाई प्रत्यक्ष निर्वाचित गर्ने प्रणाली लागू गर्ने।

  • राष्ट्रको वैदेशिक ऋण घटाउन पहल गर्ने।

  • कृषि, पर्यटन, जलश्रोत, जडीबुटी, उद्योग, उद्यमशीलता र प्रविधिमा जोड दिँदै देशलाई आत्मनिर्भर बनाउने।

  • उद्यमशीलता, प्राविधिक शिक्षा र स्वरोजगारलाई प्राथमिकता दिने।

  • विकासमैत्री अर्थनीति र राष्ट्रमैत्री परराष्ट्र नीति अवलम्बन गर्ने।

  • सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम गर्ने।

  • भाषा, धर्म, संस्कृति र परम्पराको जगेर्ना गर्दै सामाजिक सद्भाव प्रवर्द्धन गर्ने।

  • भ्रष्टाचार, अनियमितता र ढिलासुस्ती अन्त्य गर्दै विकासमुखी आर्थिक नीति ल्याउने।

  • प्राविधिक तथा व्यवसायिक शिक्षामा जोड दिने।

  • जेष्ठ नागरिक, गरिब, असहाय, अशक्त र एकल महिलाका लागि निःशुल्क स्वास्थ्य उपचार व्यवस्था गर्ने।

  • राष्ट्रिय सम्पदाको संरक्षण गर्ने।

  • आयुर्वेद शिक्षा र ‘निरोगी समाज’ अभियान सञ्चालन गर्ने।

  • जनता र देश विकासमैत्री कानुन निर्माणमा सक्रिय भूमिका खेल्ने।

स्वतन्त्र उम्मेदवार राउतले आफूलाई जनताको बीचमा रहेर सेवा गर्दै आएको उम्मेदवारको रूपमा प्रस्तुत गरेका छन्। “सत्ता कमाउने माध्यम होइन, सेवा गर्ने जिम्मेवारी हो,” भन्ने सन्देशसहित उनले आगामी फागुन २१ गते हुने निर्वाचनमा आफूलाई भारी मतले विजयी गराउन मतदातासमक्ष अपिल गरेका छन्।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected