“अबको कांग्रेस युवा मैत्री र युवाको भविष्य बोकेको पार्टी बन्छ” — कास्की–१ का उम्मेदवार तिलक रानाभाट
- March 2, 2026
- 117

पोखरा। कास्की निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार तिलक रानाभाटले अबको नेपाली कांग्रेस युवा मैत्री र युवाहरूको कांग्रेस बन्नेमा जोड दिएका छन्। युवाहरूको आकर्षणको केन्द्रका रूपमा कांग्रेसलाई स्थापित गर्न विभिन्न योजना तथा कार्यक्रम अगाडि सारिने उनले बताए।
सोमबार पोखरामा आयोजित एक कार्यक्रममा बोल्दै रानाभाटले देशभित्रै रोजगारी र सम्भावना सिर्जना गर्न युवाहरू अग्रसर हुनुपर्ने आवश्यकता औँल्याए। “युवाहरू समाजका पहरेदार र परिवर्तनका संवाहक हुन्,” उनले भने, “देशमै अवसर देखेर अघि बढ्ने वातावरण निर्माण गर्नु आजको आवश्यकता हो।”
उक्त कार्यक्रममा शारीरिक संगठन नेपालका केन्द्रीय उपाध्यक्ष एवं नेकपाका जिल्ला सदस्य लुना गुरुङ तथा नेकपा एमाले वडा नं. १५ का कार्यसमिति सदस्य अन्तिम गुरुङ कांग्रेसमा प्रवेश गरेका छन्। पार्टी प्रवेशपछि बोल्दै गुरुङले युवाहरूको सक्रिय उपस्थितिले कांग्रेसलाई थप बलियो र मजबुत बनाउने उद्घोष गरे।
कार्यक्रम पोखरा महानगरपालिका वडा नं. १० का सभापति दीपक बहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन सचिव उदिन गुरुङले गरेका थिए।
कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य कृष्णबहादुर केसी, जिल्ला सचिव भानुभक्त ढकाल, प्रदेश सांसद सरस्वती गुरुङ, क्षेत्रीय सचिव ओमप्रकाश गुरुङ, महाधिवेशन प्रतिनिधि एवं युवा नेता सुरजजंग राणा लगायतले देश विकासमा लाग्ने एकमात्र पार्टी कांग्रेस नै रहेको दाबी गर्दै रुख चिन्हमा मतदान गरी विजयी गराउन आग्रह गरेका थिए।




















