0Shares

काठमाडौं । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालको चौथो वार्षिक डिष्ट्रिक्ट कन्भेन्सनको तयारी तीव्र पारिएको छ । कन्भेन्सन तयारी मूल आयोजक समितिका संयोजक महेन्द्र कुमार राठीका अनुसार कार्यक्रमलाई सफल, व्यवस्थित र मर्यादित रूपमा सम्पन्न गर्न विभिन्न समिति तथा संरचनाहरू गठन गरी तयारीलाई तीब्रता दिइएको हो ।
उनका अनुसार मनोनयन समिति, निर्वाचन समिति, क्रेडेन्सियल समिति, मिडिया व्यवस्थापन तथा सहयोग समिति, आतिथ्य तथा स्वागत समिति, परेड व्यवस्थापन समिति, दर्ता तथा उपस्थिति समिति लगायतका समिति गठन गरी तयारी अघि बढाइएको छ ।
यसअघि लायन्स अन्तर्राष्ट्रियको विधान–विधिअनुसार डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर पार्वती खरेल पाण्डेले मार्च २१, २०२६ (वि.सं. २०८२ चैत ७ गते, शनिबार) काठमाडौंमा चौथो डिष्ट्रिक्ट कन्भेन्सन आयोजना हुने घोषणा गरेकी थिइन् ।
कन्भेन्सन काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा आयोजना हुने भएको छ भने यसको आतिथ्य लायन्स क्लब अफ काठमाडौं समर्पणले गर्नेछ ।
कन्भेन्सनका क्रममा लायन वर्ष २०२६–२०२७ का लागि डिष्ट्रिक्ट गभर्नर, प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर तथा द्वितीय भाइस डिष्ट्रिक्ट गभर्नर पदका लागि निर्वाचन कार्यक्रमसमेत सम्पन्न हुनेछ ।
डिष्ट्रिक्ट गभर्नर पाण्डेले डिष्ट्रिक्ट ३२५ आई अन्तर्गत आबद्ध सम्पूर्ण लायन्स तथा लियो सदस्यहरूलाई कन्भेन्सनमा सक्रिय सहभागिता जनाउन आग्रह गरेकी छन् । कन्भेन्सनले संगठनात्मक एकता, आपसी सहकार्य र सद्भावलाई थप सुदृढ बनाउँदै नेपालमा लायनवादको विकास र विस्तारमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास उनले व्यक्त गरिन् ।
उनले लायन्सको अन्तर्राष्ट्रिय मूल नारा “हामी सेवा गर्छौं” लाई व्यवहारमा उतार्दै मानवीय सेवाका गतिविधिलाई अझ प्रभावकारी, परिणाममुखी र दिगो बनाउन कन्भेन्सनलाई महत्वपूर्ण अवसरका रूपमा उपयोग गर्नुपर्नेमा जोड दिएकी छन्् ।
लायन्सको विधान–विधिअनुसार डिष्ट्रिक्ट गभर्नर, प्रथम तथा द्वितीय भाइस डिष्ट्रिक्ट गभर्नर पदका उम्मेदवारहरूले आवश्यक योग्यता पूरा गरी तोकिएको समयसीमाभित्र मनोनयन दर्ता गराउनुपर्ने व्यवस्था छ । साथै, कन्भेन्सनमा सहभागी हुन सम्बन्धित क्लबहरूले अन्तर्राष्ट्रिय, मल्टिपल डिष्ट्रिक्ट तथा डिष्ट्रिक्टका सम्पूर्ण बक्यौता समयमै भुक्तानी गरेको हुनुपर्ने प्रावधानसमेत रहेको छ ।
यसअघि १९ जनवरी २०२६ मा काठमाडौंमा आयोजित कार्यक्रममा डिष्ट्रिक्टका पूर्व डिष्ट्रिक्ट गभर्नरहरू, भाइस गभर्नरहरू तथा लायन्स र लियो सदस्यहरूको उपस्थितिमा गभर्नर पाण्डेले कन्भेन्सनलाई ऐतिहासिक, अनुकरणीय र स्मरणीय बनाउन सामूहिक सहकार्यका लागि आह्वान गरेकी थिइन् ।
डिष्ट्रिक्ट ३२५ आई नेपालमा काठमाडौं, नुवाकोट, रसुवा, धादिङसहित गण्डकी र धवलागिरी क्षेत्रका १२ जिल्लामा करिब २७० क्लब र ४ हजार ५ सयभन्दा बढी सदस्य आबद्ध रहेका छन् ।
नेतृत्व चयनको तयारी


आगामी लायन वर्ष २०२६–२०२७ का लागि नेतृत्व चयन प्रक्रियासमेत अघि बढिसकेको छ । डिष्ट्रिक्ट गभर्नर पदका उम्मेदवार सूर्यकुमार केसी, प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर पदका उम्मेदवार शैलेन्द्र मोहन भट्टराई र द्वितीय भाइस डिष्ट्रिक्ट गभर्नर पदका उम्मेदवार विष्णुप्रसाद भण्डारीले आगामी नेतृत्वका लागि समर्थन माग्दै भेटघाट तथा शुभकामना आदान–प्रदान गरिसेका छन् ।
भेटघाटका क्रममा गभर्नर पदका उम्मेदवार केसीले डिष्ट्रिक्ट ३२५ आईले विश्व लायन्स अभियानमा हासिल गरेको उत्कृष्ट पहिचानलाई अझ मजबुत बनाउँदै सेवा कार्यलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरका थिए ।
त्यस्तै प्रथम भाइस गभर्नरका उम्मेदवार भट्टराईले सकारात्मक सोच, संगठनात्मक भावना र सामूहिक नेतृत्व नै लायनिज्मको आधार रहेको उल्लेख गर्दै आगामी नेतृत्वको अभियान सफल बनाउन आफू पूर्ण रूपमा प्रतिबद्ध रहने बताए ।
द्वितीय भाइस गभर्नरका उम्मेदवार भण्डारीले डिष्ट्रिक्ट गभर्नरको नेतृत्वमा अघि बढ्ने सेवा अभियानलाई तन, मन, वचन र कर्मले साथ दिने प्रतिबद्धता व्यक्त गर्दै नेतृत्व टोलीलाई शतप्रतिशत मतका साथ विजयी गराउन आग्रह गरेका छन् ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected