पोखरा, १ चैत। गुरुङ कथानकमा आधारित चलचित्र ‘सौंर्बे म्रु (मनको राजा)’ को पोखरामा भिआइपी (प्रिमियर) शो सम्पन्न भएको छ। सोम गुरुङको निर्देशनमा तयार भएको उक्त चलचित्र पोखराको मिडटाउन फिल्म हलमा आइतबार विशेष प्रदर्शन गरिएको हो।
ब्रेज मेश्रो फिल्म प्रोडक्सन घान्द्रुकको ब्यानरमा लामा अमृत फाउण्डेशन घान्द्रुकद्वारा निर्मित चलचित्रले घान्द्रुक क्षेत्रको प्राकृतिक सुन्दरता र गुरुङ समुदायको सांस्कृतिक पाटोलाई उजागर गरेको निर्माण पक्षले जनाएको छ।

प्रिमियर शोमा बोल्दै कास्कीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले चलचित्रले घान्द्रुकको पर्यटन प्रवर्द्धनमा सकारात्मक योगदान पुर्याउने विश्वास व्यक्त गरे। “घान्द्रुक आसपास क्षेत्रमा छायांकन गरिएको ‘मनको राजा’ ले स्थानीय कला, संस्कृति र प्राकृतिक सौन्दर्यलाई देश–विदेशसम्म चिनाउनेछ,” उनले भने।

चलचित्रका निर्माता तथा नायक लामा अमृत गुरुङले घान्द्रुकको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले फिल्म, म्युजिक भिडियो तथा डकुमेन्ट्री निर्माणलाई निरन्तरता दिइरहेको बताए। “घान्द्रुक आफैंमा महत्वपूर्ण पर्यटकीय गन्तव्य हो। यस क्षेत्रको पहिचानलाई चलचित्रमार्फत अझ व्यापक बनाउने हाम्रो प्रयास हो,” उनले बताए।
चलचित्र चैत ६ र ७ गते पोखराको श्रीकृष्ण चलचित्र हलमा सार्वजनिक प्रदर्शन गरिने निर्माता गुरुङले जानकारी दिए। प्रिमियर शोको अवसरमा चलचित्र निर्माणमा सहयोग पुर्याउने विभिन्न व्यक्तित्वलाई सम्मान समेत गरिएको थियो।
चलचित्रमा निर्माता तथा नायक अमृत गुरुङ, लक्ष्मी गुरुङ, सुरज तमु र प्रीति गुरुङको मुख्य भूमिका रहेको छ। त्यसैगरी कुलबहादुर गुरुङ, मञ्जु गुरुङ, निशु गुरुङ, रविता गुरुङ, बिनु गुरुङ, स्नेहा गुरुङ, लालशोभा गुरुङ, मिना गुरुङ, मौसम गुरुङ र ओम गुरुङले अभिनय गरेका छन्।
प्राविधिक पक्षतर्फ निकोलस गुरुङले छायांकन तथा सम्पादन गरेका छन् भने सह–छायाकारका रूपमा करण भण्डारीले साथ दिएका छन्। कलाकारको मेकअप भीमसेन गुरुङ (आशिष) ले गरेका हुन्। चलचित्रका गीतमा धनबहादुर गुरुङ (लमजुङ) र सन्तोष बस्यालले शब्द, संगीत तथा स्वर दिएका छन् भने अमेरिकामा रहेकी ज्योति गुरुङले पनि स्वर भरेकी छन्।
चलचित्रको अडियो मिक्सिङ बुद्धराज बज्राचार्यले बार डिजिटल स्टुडियोमा गरेका हुन् भने रेकर्डिङ बज्रपादी कला स्टुडियोमा गरिएको छ। नृत्य निर्देशन साजन गुरुङ र सह–नृत्य निर्देशन रोहित गुरुङले गरेका छन्। लाइनअप स्टुडियोमा पोस्ट–प्रोडक्सन गरिएको यस चलचित्रको उत्पादन व्यवस्थापन विकास क्रोम्छेले सम्हालेका छन्।
























