
पोखरा । लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५–आई नेपाल अन्तर्गत रिजन–२५ को रिजन कन्फ्रेन्स सम्पन्न भएको छ।
सोमबार माटेपानीस्थित एसआर केसी क्याटरिङमा आयोजित कार्यक्रम रिजन–२५ का रिजन चेयरपर्सन रश्मी अधिकारी भण्डारीको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा लायन्स तथा गैर–लायन्स व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
रिजन–२५ अन्तर्गत रहेका जोन–५७ का जोन चेयरपर्सन सितल श्रेष्ठ र जोन–५८ का जोन चेयरपर्सन बिजया थापाको मातहतमा रहेका लायन्स क्लब अफ पोखरा पेन्गुईन, पोखरा आदर्श सेन्चुरी, पोखरा ढुंगेसाँघु, पोखरा समर्पित, पोखरा अर्पण, पोखरा आँधीखोला र पोखरा योगशाला क्लबका अध्यक्ष तथा पदाधिकारीहरूको उपस्थिति कार्यक्रममा रहेको थियो।
कार्यक्रम लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५–आई नेपालका द्वितीय भाइस डिस्ट्रिक्ट गभर्नर शैलेन्द्र मोहन भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा पूर्व डिस्ट्रिक्ट गभर्नर राम बसेल तथा पातञ्जल योग समितिका केन्द्रीय सल्लाहकार रविन्द्र माकाजु लगायत विभिन्न व्यक्तित्वहरूको पनि उपस्थिति रहेको थियो।

कार्यक्रममा जोन–५७ का जोन चेयरपर्सन सितल श्रेष्ठ र जोन–५८ की जोन चेयरपर्सन बिजया थापाले आफ्नो–आफ्नो जोन अन्तर्गतका क्लबहरूले हालसम्म गरेका सामाजिक तथा सेवामूलक कार्यहरूको विवरण प्रस्तुत गरेका थिए।
रिजन चेयरपर्सन रश्मी अधिकारी भण्डारीले रिजन अन्तर्गतका जोन चेयरपर्सन तथा क्लब अध्यक्षहरूलाई मायाको चिनो प्रदान गर्दै सम्मान गरेकी थिइन्।
सोही अवसरमा समाजसेवी कमला पराजुलीलाई विशेष सम्मान गरिएको थियो। उनले वि.सं. २०६८ चैत १ गते स्थापना गरेको ‘अमोर सेवा नेपाल’ संस्थामार्फत सञ्चालित बालगृहमा अभिभावकविहीन बालबालिकालाई आश्रय, शिक्षा तथा स्वास्थ्य सुविधा उपलब्ध गराउँदै आएको योगदानको उच्च मूल्याङ्कन गर्दै सम्मान–पत्र प्रदान गरिएको हो।
सम्मान ग्रहण गर्दै पराजुलीले २०६८ सालदेखि बालगृह सञ्चालन गर्दै आएको र हाल २३ छोरी र २३ छोरा गरी ४६ बालबालिकाको अभिभावकीय जिम्मेवारी आफूले सम्हालिरहेको जानकारी दिइन्। सडकमा बेसहारा बालबालिका देख्दा मन दुःख्ने भएकाले उनीहरूलाई आश्रय दिने उद्देश्यले बालगृह सञ्चालन सुरु गरेको बताउँदै सहयोगी हातहरूले आफूलाई उत्साह दिएको उल्लेख गरिन्। साथै उनले यही चैत ६ गते बालगृहका छोराहरूको सामूहिक ब्रतबन्ध गर्ने योजना रहेको जानकारी दिइन्।
कार्यक्रममा गण्डकी बोर्डिङ स्कुलमा अध्ययनरत आरोही शर्मालाई पनि सम्मान गरिएको थियो। द युथ नेटवर्कद्वारा आयोजित “स्टुडेन्ट अफ द एयर” रियालिटी शोमा ‘द मोस्ट इम्पेक्टफुल भ्वाइस–२०२६’ अवार्ड प्राप्त गरेको उपलब्धिलाई कदर गर्दै उनलाई सम्मान गरिएको हो।
प्रमुख अतिथि द्वितीय भाइस डिस्ट्रिक्ट गभर्नर शैलेन्द्र मोहन भट्टराईले रिजन कन्फ्रेन्स सफल र प्रभावकारी भएको उल्लेख गर्दै रिजन अन्तर्गतका क्लबहरूले सामाजिक क्षेत्रमा उल्लेखनीय कार्य गरेको बताए। आगामी दिनहरूमा पनि यस्ता सेवामूलक गतिविधिलाई निरन्तरता दिन उनले आग्रह गरे।
पूर्व डिस्ट्रिक्ट गभर्नर राम बसेलले जिम्मेवारी ग्रहण गरेपछि कुशलतापूर्वक नेतृत्व निर्वाह गरेको भन्दै रिजन चेयरपर्सनलाई बधाई दिएका थिए। उनले कार्यक्रममा उपस्थित गैर–लायन्स व्यक्तित्वहरूलाई लायन्सको उद्देश्य, गतिविधि र सामाजिक योगदानबारे जानकारी गराउँदै लायन्स अभियानमा सहभागी हुन प्रेरित गरे।
पातञ्जल योग समितिका केन्द्रीय सल्लाहकार रविन्द्र माकाजुले लायन्सले समाजमा पुर्याएको योगदानको प्रशंसा गर्दै सत्कर्म गर्ने व्यक्ति समाजमा उत्कृष्ट हुने बताए। उनले योगले मानिसलाई स्वस्थ बनाउने र स्वस्थ व्यक्तिले समाजसेवामा अझ प्रभावकारी भूमिका खेल्न सक्ने उल्लेख गर्दै आहार–विहारमा सचेत रहन आग्रह गरे।

कार्यक्रममा खुशी अर्यालले आकर्षक योग–नृत्य प्रस्तुत गरेकी थिइन्।





सम्बन्धित खवर
















