0Shares

पोखरा । होटल पौवा प्रालिले स्थापना भएको १० वर्ष पूरा गरेको अवसरमा विभिन्न कार्यक्रमसहित वार्षिकोत्सव मनाउने भएको छ। सात कोठाबाट सुरु भएको होटल पौवा आज देशभर २० शाखासम्म विस्तार हुन सफल भएको छ।

स्वदेशी लगानी, सामूहिक स्वामित्व र नेपाली आतिथ्य संस्कृतिलाई आधार बनाएर अघि बढिरहेको पौवाले आफ्नो दशक यात्रा ‘स्वाद उत्सव’मार्फत मनाउन लागेको हो। यस सम्बन्धमा मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमार्फत कम्पनीले देशभर रहेका आफ्ना शाखाहरूमा एकसाथ उत्सव आयोजना गर्ने जानकारी दिएको छ।

पौवाका ब्राण्डिङ विभाग प्रमुख विष्णुप्रसाद भण्डारीका अनुसार पोखरा शाखामा मात्रै चैत २६, २७ र २८ गतेसम्म तीन दिन विशेष ‘स्वाद उत्सव’ सञ्चालन हुनेछ। उक्त कार्यक्रममा देशभरका शाखाबाट ४० हजारभन्दा बढी पाहुनालाई निमन्त्रणा गरिएको र उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ।

रुपन्देहीको सालझण्डीस्थित एक घरका सात कोठाबाट सुरु भएको होटल पौवाले छोटो समयमै नेपाली आतिथ्य क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएको छ। भैरहवाबाट सुरु भएको यसको सेवा अहिले देशका विभिन्न शहरहरूमा फैलिँदै गएको छ।

हाल होटल पौवा सञ्जालमा एक हजारभन्दा बढी कर्मचारी कार्यरत छन् भने २५० भन्दा बढी लगानीकर्ताको सहभागिता रहेको कम्पनीले जनाएको छ। आगामी दिनमा थप शाखा विस्तार गर्दै नेपाली आतिथ्य सेवालाई अझ व्यापक बनाउने योजना कम्पनीले अघि सारेको छ।

वार्षिकोत्सवकै अवसरमा चैत २८ गते भैरहवा शाखामा ‘बितायौं बालापन’ अवधारणामा लगानी सम्मेलनसमेत आयोजना गरिने भएको छ। ‘मिसन १००’ लक्ष्यसहित आगामी दिनमा शताब्दी यात्रा तय गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गर्न लागिएको जनाइएको छ।

यसैगरी नेपाली नयाँ वर्ष २०८३ को स्वागतमा चैत ३० गते साँझ देशभरका अधिकांश शाखाहरूमा ‘शुभकामना साँझ–२०८३’ नामक विशेष सांगीतिक कार्यक्रम आयोजना गरिने कम्पनीले जनाएको छ। कार्यक्रममा स्थानीय तथा राष्ट्रियस्तरका कलाकारहरूको प्रस्तुति रहनेछ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected