0Shares

स्याङ्जा, २५ चैत्र – गएको फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ मा नेपाली काँग्रेसका तर्फबाट स्याङ्जा क्षेत्र नं.–१ मा उम्मेदवार बनेका भरतराज ढकालले मतदातालाई धन्यवाद दिनुका साथै नयाँ वर्ष २०८३ को शुभकामना व्यक्त गर्दै भेटघाट कार्यक्रमलाई तीव्रता दिएका छन्।

निर्वाचन क्षेत्रका ५२ वडामध्ये अधिकांश वडामा पुगिसकेका ढकालले मतदातासँग प्रत्यक्ष भेट्दै मतदानप्रति आभार व्यक्त गरेका छन्। साथै उनले चुनावी अभियानका क्रममा गरेका प्रतिबद्धता पूरा गर्ने र नागरिकका समस्या समाधानका लागि सबै पक्षसँग सहकार्य गर्ने दोहोर्याएका छन्।

“चुनावी प्रचारका क्रममा नागरिकबाट धेरै समस्या सुन्न पाइयो,” ढकालले भने, “अब ती समस्या समाधानका लागि आफ्नो तर्फबाट सबैसँग हातेमालो गर्दै अघि बढ्छु।” उनले चुनावी हारजितलाई सामान्य प्रक्रिया मान्दै जनताको समस्या समाधान गर्नु नै आफ्नो मुख्य दायित्व भएको बताए।

उनका अनुसार स्याङ्जा क्षेत्र नं.–१ मा भूगोल अनुसार समस्या फरक–फरक छन्। साना योजना स्थानीय सरकार, मझौला योजना प्रदेश सरकार र ठूला योजनालाई संघीय सरकार तथा राष्ट्रिय योजना आयोगसँग सहकार्य गरेर अघि बढाउनुपर्ने उनले बताए।

मुक्तिनाथ कृषि कम्पनीका संस्थापक अध्यक्षसमेत रहेका ढकालले कृषिमा आधारित स्वरोजगारलाई प्राथमिकतामा राख्ने धारणा व्यक्त गरे। “हामीसँग वातावरणीय र कृषिजन्य अथाह सम्भावना छ,” उनले भने, “स्थानीय सीप र क्षमतालाई उत्पादनसँग जोडेर आर्थिक उपार्जन बढाउने अभियानलाई निरन्तरता दिन्छु।”

भेटघाटका क्रममा ढकालले नेपाली काँग्रेसको भूमिका पनि स्पष्ट पारेका छन्। “चुनावी परिणामले काँग्रेस केही खुम्चिएको जस्तो देखिए पनि काँग्रेस बिना लोकतन्त्र कमजोर हुन्छ,” उनले भने। उनले गगन थापाको नेतृत्वमा पार्टीको पुस्तान्तरण र देशको रुपान्तरण सम्भव रहेको दाबी गरे। काँग्रेसभित्र देखिएका समस्यालाई संवादमार्फत समाधान गर्नुपर्ने सुझाव दिँदै उनले अग्रजलाई सम्मान र युवालाई अवसर दिनुपर्नेमा जोड दिए।

फागुन २१ मा भएको निर्वाचनमा स्याङ्जा क्षेत्र नं.–१ बाट धनञ्जय रेग्मी २९ हजार ७१ मतसहित विजयी भएका थिए। नेपाली काँग्रेसका भरतराज ढकाल ले १८ हजार ८५७ मत ल्याउँदा मिनप्रसाद गुरुङ ले १६ हजार ८०४ मत प्राप्त गरेका थिए।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected