
पोखरा । “सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक” भन्ने नारासहित राष्ट्रिय हेमजा आलु महोत्सव शुक्रवारदेखि सुरु भएको छ । महोत्सव आउँदो वैशाख ५ गतेसम्म सञ्चालन हुनेछ ।

महोत्सव उद्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले कृषि उपजका नाममा महोत्सव आयोजना हुनु आफैंमा महत्वपूर्ण भएको बताए । उनले आलु महोत्सवले पोखराको समग्र पहिचान र ब्राण्डिङमा टेवा पुर्याएको उल्लेख गर्दै महानगरले यसलाई प्राथमिकतामा राखेको जानकारी दिए । साथै हेमजाका चौरासी नहर, साँझाचोक–तिब्बतीयन क्याम्प सडक तथा सुईखेत खोला व्यवस्थापनजस्ता विकास आयोजना पनि प्राथमिकतामा रहेको उनले बताए ।

पोखरा–२५ का वडाध्यक्ष तथा महानगर प्रवक्ता मोतिलाल तिम्सिनाले आलु महोत्सव हेमजावासीको चाडका रूपमा स्थापित भएको बताए । उनले कृषि पेशा मर्यादित र गर्व गर्न लायक भएको उल्लेख गर्दै महोत्सवले हेमजालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सहयोग पुगेको दाबी गरे ।
महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले महोत्सवले कृषिमा आत्मनिर्भर बन्न प्रेरित गर्ने बताए । उनले कृषि, पर्यटन र व्यापारमार्फत स्थानीयको जीवनस्तर उकास्न महानगर लागिपरेको जानकारी दिए ।
मूल समारोह समितिका अध्यक्ष वसन्तकुमार श्रेष्ठले सरोकारवालाको साथ र सहयोगले महोत्सवलाई निरन्तरता दिन सफल भएकोमा खुशी व्यक्त गरे । उनले महोत्सवमार्फत पोखरामा कृषि पर्यटन प्रवर्द्धन हुने विश्वास व्यक्त गर्दै किसान बहुउद्देश्यीय सहकारी संस्थाको योगदानको प्रशंसा गरे ।
महोत्सव सुरु हुनु अघि हेमजास्थित विष्णुपादुका माईस्थानबाट बाजागाजासहित कृषि झाँकी र्याली निकालिएको थियो । र्याली मिलनचोक र साँझाचोक हुँदै विष्णुपादुका खेलमैदानस्थित महोत्सव स्थलमा पुगेर मूल समारोहमा परिणत भएको थियो ।
महोत्सवमा आलु तथा ताजा तरकारीको बृहत् प्रदर्शनी, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकारको स्टल, माटो तथा बिरुवा परीक्षण, रोग निदान सेवा तथा कृषक लक्षित कार्यक्रमहरू सञ्चालन गरिएका छन् । साथै कृषि झाँकी प्रतियोगिता, सांस्कृतिक कार्यक्रम, चर्चित कलाकारका प्रस्तुति तथा कृषि बीउविजन र यन्त्रहरूको प्रदर्शनी पनि आकर्षणका रूपमा रहेका छन् ।
आयोजकका अनुसार महोत्सवमा आलुका परिकारका विशेष स्टलसहित ३० वटा कृषि स्टल र करिब सयवटा व्यावसायिक स्टल राखिएका छन् । प्रवेश शुल्क सर्वसाधारणका लागि १०० रुपैयाँ र विद्यार्थीका लागि परिचयपत्रका आधारमा ५० रुपैयाँ निर्धारण गरिएको छ । महोत्सवस्थलमा प्रतिकेजी ३५ रुपैयाँमा आलु बिक्री भइरहेको छ ।
महोत्सवको दोस्रो दिन शनिबार शान्तिरानी परियार, परशुराम अधिकारी र सुनिल गायकलगायत कलाकारहरूको प्रस्तुति रहने कार्यक्रम छ ।





सम्बन्धित खवर















