0Shares

अन्नपूर्ण, कास्की।  अन्नपूर्ण गाउँपालिका, कास्कीले आर्थिक वर्ष २०८२/०८३ को दोस्रो चौमासिक प्रगति समीक्षा गर्दै शुक्रबार सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना सम्पन्न गरेको छ। गाउँपालिकाको वडा नं. ७, तोल्कास्थित हिमालय माध्यमिक विद्यालयको प्राङ्गणमा सम्पन्न उक्त कार्यक्रममा स्थानीय सरोकारवालाको उल्लेखनीय सहभागिता रह्यो।

वडा नं. ७ का वडाध्यक्ष तथा गाउँपालिका प्रवक्ता भरतमान गुरुङले उपस्थित सम्पूर्णलाई स्वागतसहित  सार्वजनिक सुनुवाइले स्थानीय सहभागिता सुदृढ गर्ने उल्लेख गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताए। गम्भीर, प्रश्नमुखी र उत्तरदायी वातावरणमा सम्पन्न भएको कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी र स्थानीयवासीबीच खुला संवाद भएको थियो।

प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी बरालले चालु आर्थिक वर्षको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै बजेट खर्च, योजनाको कार्यान्वयन अवस्था तथा सेवा प्रवाहमा भएका सुधारबारे जानकारी दिए। प्रस्तुत तथ्याङ्कले पारदर्शिताको संकेत गरे पनि स्थानीयले उठाएका प्रश्नहरूले कार्यान्वयन पक्ष अझ सुदृढ गर्नुपर्ने आवश्यकता औंल्याए।

सार्वजनिक सुनुवाइमा विकास निर्माण, स्वास्थ्य, शिक्षा, यातायात र खानेपानीसँग सम्बन्धित समस्या प्रमुख रूपमा उठेका थिए । स्थानीय महेश कुमार आलेले लुम्ले–लान्द्रुक सडक निर्माणमा ढिलासुस्ती, कमजोर अनुगमन तथा माझगाउँ हेल्थपोस्ट प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको गुनासो गरे। खानेपानी योजनाका कमजोरी पनि उनले औंल्याए।

त्यस्तै, भगवान पौडेलले लान्द्रुक मोदी हाइड्रोपावरले सामाजिक उत्तरदायित्व पूरा नगरेको भन्दै असन्तुष्टि व्यक्त गरे। “सार्वजनिक सुनुवाइ किन नगर्ने?” भन्ने प्रश्नले जनअपेक्षा र कार्यान्वयनबीचको दूरीलाई उजागर गरेको थियो । साथै, लुम्ले–लान्द्रुक क्षेत्रमा सार्वजनिक यातायात अनियमित हुँदा सर्वसाधारण मारमा परेको गुनासो व्यापक रूपमा सुनियो।

यसैगरी, तोल्का–भिचुक झोलुङ्गे पुलको डीपीआर तयार भए पनि निर्माण अघि नबढेको, सामुदायिक भवनको अभाव, शिक्षक सरुवामा पारदर्शिताको कमी, ट्रेकिङ मार्ग मासेर सडक निर्माण गरिएको र पर्यटन संकेत (साइनबोर्ड) को अभावजस्ता विषयहरू पनि उठाए। संघ र प्रदेशबाट प्राप्त बजेट फिर्ता किन भयो भन्ने विषयमा समेत जवाफ मागिएको थियो ।

अपाङ्गता भएका स्थानीय होमबहादुर थापाले आफूले पाउने भत्तामा असमानता भएको गुनासो गर्दै कृत्रिम खुट्टा जडानका लागि पहल गरिदिन आग्रह गरे।

हिमालय माध्यमिक विद्यालयका प्रधानाध्यापक दिलबहादुर थापाले विद्यालयमा आइसीटी पूर्वाधारको अभाव, जीर्ण भवन, अस्वच्छ खानेपानी, कक्षाकोठा अभाव, सभा हल र खेलमैदान नहुनु, तारबारको कमी तथा दरबन्दी न्यून रहेको समस्या औंल्याएका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्यामप्रसाद गुरुङले शिक्षामा पर्याप्त लगानी नभएको भन्दै सुधारका लागि ठोस कार्ययोजना आवश्यक रहेको बताए। उनले हाइड्रोपावर कम्पनीहरूले सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा क्षेत्रमा योगदान गर्नुपर्ने धारणा राखे।

उठेका गुनासाहरूको जवाफ दिँदै गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले सीमित स्रोत र कानुनी दायराभित्र रहेर योजनाबद्ध रूपमा समस्या समाधानतर्फ अघि बढिरहेको बताए। उनले आगामी दिनमा थप प्रभावकारी योजना र पारदर्शी कार्यशैली अपनाउने प्रतिबद्धता जनाए।

उपाध्यक्ष चन्द्रकला अधिकारीले महिला, बालबालिका, जेष्ठ नागरिक तथा विपन्न वर्ग लक्षित कार्यक्रमलाई प्राथमिकता दिइने स्पष्ट पारिन्।

कार्यक्रमका सहजकर्ता पत्रकार प्रकाश ढकालले सार्वजनिक सुनुवाइलाई औपचारिकतामा सीमित नराखी व्यवहारिक सुधारको आधार बनाउनुपर्नेमा जोड दिए। उनका अनुसार, उठेका प्रश्नहरूको समयमै समाधान गर्न सकेमा गाउँपालिकाको विकास यात्राले थप गति लिने बिश्वास व्यक्त गरे ।

कार्यक्रम ए एण्ड ए मिडिया प्रा.लि., पोखराको सहजीकरणमा सम्पन्न भएको थियो।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected