
पोखरा, २९ चैत — सांस्कृतिक झाँकी, बाजागाजा र विविध कार्यक्रमसहित २१ औं संस्करणको फेवा नव वर्ष महोत्सव २०८३ आइतबारदेखि पोखरामा सुरु भएको छ। कास्कीकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले अम्बोटमा आयोजित समारोहमा महोत्सवको उद्घाटन गरिन्।

लेकसाइडस्थित खहरेबाट विभिन्न जातजातिका झाँकी र पञ्चेबाजासहित सुरु भएको लामो र्याली अम्बोट पुगेको थियो। सहिदचोकदेखि खहरेसम्मको सडक क्षेत्रमा सञ्चालन हुने महोत्सव तीन दिनसम्म चल्नेछ र आगामी वैशाख १ गते राति समापन हुनेछ।

उद्घाटन कार्यक्रममा सातै प्रदेशका सांस्कृतिक नृत्य प्रस्तुत गरिनुका साथै तरेली सांस्कृतिक परिवारले स्वागत नृत्य प्रस्तुत गरेको थियो। महोत्सवभर साँझ सांस्कृतिक कार्यक्रम, पञ्चेबाजाको प्रस्तुति र पप कन्सर्ट आयोजना गरिनेछ। सोमबार खहरेबाट अम्बोटसम्म दुलही ल्याउने शैलीमा पञ्चेबाजा प्रतियोगिता हुने आयोजक होटल संघ पोखरा नेपालका अध्यक्ष तथा संयोजक लक्ष्मण सुवेदीले जानकारी दिए। उक्त प्रतियोगितामा १५ पञ्चेबाजा समूह सहभागी छन्।
लेकसाइडका सेन्टर प्वाइन्ट, गौरीघाट र अम्बोटका विभिन्न स्थानमा सांस्कृतिक कार्यक्रम तथा पञ्चेबाजा प्रतियोगिता हुनेछन् भने खहरेमा रत्यौली कार्यक्रम पनि समावेश गरिनेछ। साथै पर्यटक दौड प्रतियोगिता पनि महोत्सवको आकर्षण रहनेछ।
उद्घाटन गर्दै प्रजिअ शर्माले फेवा महोत्सवको निरन्तरता नै यसको सफलता भएको बताउँदै पोखरा ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय हिसाबले महत्वपूर्ण शहर भएको उल्लेख गरिन्। उनले पोखरालाई ‘पर्यटनको राजधानी’को रूपमा चिनिनु सकारात्मक भएको बताइन्। महोत्सवका झाँकी र प्रस्तुतिहरूले जनएकता झल्काएको भन्दै शहरलाई अझ सुरक्षित र सुन्दर बनाउँदै लैजानुपर्नेमा जोड दिइन्।
होटल संघ नेपालका वरिष्ठ उपाध्यक्ष प्रवीण बहादुर पाण्डेले आन्तरिक तथा क्षेत्रीय पर्यटन प्रवर्द्धनमा जोड दिन सुझाव दिए। उनले भारतीय र चिनियाँ पर्यटकले पोखराको पर्यटन विकासमा महत्वपूर्ण योगदान दिन सक्ने बताए। कार्यक्रमको सञ्चालन संघकी सचिव पार्वता पाण्डेले गरेकी थिइन्।
पर्यटन, संस्कृति र खानालाई समेटेर सडकमै आयोजना गरिएको महोत्सवमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ। महोत्सवका अवसरमा संघअन्तर्गतका होटलहरूले प्रकाशित दररेटमा २५ प्रतिशतसम्म छुट दिने घोषणा गरेका छन्। साथै इ–सेवामार्फत होटल बुकिङ गर्दा १० प्रतिशतसम्म क्यासब्याक सुविधा उपलब्ध हुने जनाइएको छ।
महोत्सवको मुख्य प्रायोजक गोर्खा ब्रुअरी प्रालि रहेको छ भने सह–प्रायोजकमा म्याक्स टाइगर र एक्स्ट्रिम इनर्जी ड्रिंक रहेका छन्। प्रायोजकहरूमा अन्नपूर्ण केवलकार लिमिटेड, इ–सेवा र युनाइटेड वाइनरी प्रालि छन्। इन्स्योरेन्स पार्टनरमा सलिको इन्स्योरेन्स रहेको छ भने प्रवर्द्धक संस्थाहरूमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय, पोखरा महानगरपालिका र उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश रहेका छन्।





सम्बन्धित खवर












