
पोखरा। हेमजा आलु महोत्सवको तेस्रो दिन आइतबारसम्म आइपुग्दा ५० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ। महोत्सव मध्यतिर प्रवेश गर्दै जाँदा दर्शकको सहभागिता उल्लेख्य रूपमा बढेको छ। शनिबार र आइतबार सार्वजनिक बिदा परेकाले तथा मौसम अनुकूल रहेकाले महोत्सवमा आगन्तुकको भीड अझै बढेको आयोजकले जनाएका छन्।

दर्शकको संख्या बढेसँगै आलु तथा अन्य उपभोग्य वस्तुको किनबेच पनि तीव्र भएको छ। महोत्सवमा आलुका परिकारसहित एउटा स्टल, ३० वटा कृषि स्टल र अन्य सयभन्दा बढी व्यावसायिक स्टल सञ्चालनमा छन्। आलु प्रतिकेजी ३५ रुपैयाँका दरले बिक्री भइरहेको छ।

आइतबारसम्म ८ लाख रुपैयाँभन्दा बढीको आलु बिक्री भइसकेको आलु तथा कृषि उपज व्यवस्थापन उपसमिति संयोजक अर्जुन काफ्लेले जानकारी दिए। उनका अनुसार हालसम्म अधिकतम ६० केजीसम्म र न्यूनतम १ केजीसम्म आलु खरिद भएको छ।
सामान्यतः २० देखि ३० केजीसम्म आलु किन्ने ग्राहक धेरै देखिएका छन्। कास्कीका छिमेकी पालिकासँगै पर्वत, बागलुङ, तनहुँ र स्याङ्जाबाट पनि आलु खरिदका लागि मानिसहरू आउने गरेका छन्।
“हेमजाको आलु स्वादिलो छ, चाँडै पाक्छ र स्वास्थ्यका हिसाबले पनि राम्रो भएकाले किन्ने गर्छौं,” तनहुँकी सुनिता श्रेष्ठले बताइन्।
महोत्सवमा आइतबार कलाकारहरू बद्री पंगेनी, ममता तामाङ, शान्ता बर्देवा, रोशन विसी, नेत्र खड्का, परशुराम अधिकारी, मुना आर्याल, आयुषा खत्री लगायतले प्रस्तुति दिएका थिए। सोमबार भने अन्जिला रेग्मी, रामजी पौडेल, सरस्वती लामिछाने, कमला गैरे, किशन नेपाली, भूमिका पंगेनी, राजेन्द्र गुन्द्रुक र मनोज गजुरेलको प्रस्तुति रहने कार्यक्रम छ। साथै, विभिन्न ब्यान्डहरूको कन्सर्ट पनि सञ्चालन हुने जनाइएको छ।
महोत्सवमा आलु तथा तरकारीको प्रदर्शनी, आलुको पहाड निर्माण, विभिन्न परिकारको स्वाद परीक्षण, किसानका लागि माटो परीक्षण, रोग निदान तथा कृषि सम्बन्धी सांस्कृतिक कार्यक्रमहरू सञ्चालन भइरहेका छन्।
यसैगरी, कृषि झाँकी प्रतियोगिता, दैनिक सांगीतिक प्रस्तुति, कृषि उत्पादन र उपकरणको प्रदर्शनीलगायत गतिविधिहरू पनि आकर्षणको केन्द्र बनेका छन्।
आयोजक विष्णुपादुका क्लबका अध्यक्ष बसन्तकुमार श्रेष्ठका अनुसार आइतबारसम्म करिब २५ हजारभन्दा बढी दर्शकले महोत्सव अवलोकन गरिसकेका छन्।





सम्बन्धित खवर













