0Shares

पोखरा– हेम्जामा जारी राष्ट्रिय आलु महोत्सव शनिबार समापन हुने भएको छ। समापन कार्यक्रममा चर्चित कलाकार प्रकाश सपुतसहित विभिन्न कलाकारहरूको सांगीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ।

मूल आयोजक समितिका अनुसार समापन समारोहलाई पोखरा महानगरपालिका–२५ का अध्यक्ष मोतीलाल तिम्सिनाले सम्बोधन गर्ने कार्यक्रम छ। कार्यक्रममा प्रेमराज अधिकारी, सुनीता नेपाली, सीता परियार, राजेश भण्डारी र रमा गौतमलगायत कलाकारहरूको प्रस्तुति रहनेछ।

महोत्सव अवधिभर कृषि, पर्यटन र स्थानीय उत्पादन प्रवर्द्धनलाई लक्षित गर्दै विभिन्न गतिविधि सञ्चालन गरिएको थियो। आलु तथा ताजा तरकारीको प्रदर्शनी, कृषि झाँकी प्रतियोगिता, सांस्कृतिक कार्यक्रम र कृषि उपकरण प्रदर्शनी महोत्सवका मुख्य आकर्षण बनेका थिए।

आयोजकका अनुसार महोत्सवमा उल्लेख्य दर्शक सहभागिता रहेको छ भने स्थानीय किसानले राम्रो व्यापार गरेका छन्। समापन अवसरमा विभिन्न प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण तथा सहयोगी संघसंस्थालाई सम्मान गर्ने कार्यक्रम पनि राखिएको छ।

“सुन्दर ठाउँ हेम्जा जाऔं, आलुको स्वादिष्ट परिकार खाऔं, आलु एक परिकार अनेक” भन्ने नारासहित सञ्चालन भएको महोत्सवले कृषि पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याएको आयोजकको दाबी छ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected