
पोखरा, वैशाख — कास्कीको अन्नपूर्ण गाउँपालिकाले कृषकको आयआर्जन वृद्धि र आत्मनिर्भरता प्रवर्द्धन गर्ने लक्ष्यसहित मौरीपालन कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाएको छ। वडा नं. १ र २ अन्तर्गत पर्ने प्याउदी र ठुलाचौर क्षेत्रका किसानलाई ५० प्रतिशत अनुदानमा मौरी गोलासहितका घार तथा खाली घार वितरण गरिएसँगै स्थानीय कृषिमा नयाँ उत्साह र ऊर्जा थपिएको छ।
कार्यक्रमअन्तर्गत ७५ वटा मौरी गोलासहितका घार र १०३ वटा खाली घार कृषकलाई उपलब्ध गराइएको छ। आधुनिक प्रविधिमा आधारित मौरीपालन प्रणालीलाई प्रोत्साहन गर्न तालिमसँगै आवश्यक सामग्री हस्तान्तरण गरिएको ठुलाचौर मौरीपालक समूहका अध्यक्ष राजु दाहालले जानकारी दिए। उनका अनुसार यस क्षेत्रमा पहिलोपटक व्यवस्थित र आधुनिक घार वितरण भएपछि किसानहरू व्यावसायिक मौरीपालनतर्फ आकर्षित भएका छन्।

अनुदान योजनाअनुसार किसानहरूले खाली घार १ हजार ८६० रुपैयाँ र मौरी गोलासहितको घार ३ हजार ८५० रुपैयाँमा प्राप्त गरेका छन्। यससँगै मौरीपालनलाई सुरक्षित र व्यवस्थित बनाउन करिब ५ हजार रुपैयाँ बराबरका सुरक्षात्मक तथा आवश्यक सामग्री—टोपी, पञ्जा, फिडर, चास्नी तथा पानी राख्ने भाँडो—समेत उपलब्ध गराइएको छ।
मौरीपालन प्रशिक्षक रमेशराज पौडेलद्वारा ४५ जना स्थानीय कृषकलाई ६ दिने व्यावहारिक तालिम प्रदान गरिएको थियो, जसले नयाँ र पुराना दुवै किसानलाई सीप अभिवृद्धिमा सहयोग पुर्याएको छ।

कृषि अधिकृत जुनु जिमीका अनुसार कार्यक्रममार्फत अनुभवी मौरीपालकलाई व्यवसाय विस्तारका लागि खाली घार उपलब्ध गराइएको छ भने नयाँ कृषकलाई तालिमसहित मौरी घार वितरण गरिएको छ। यसले उत्पादन वृद्धि र व्यवसाय विस्तार दुवै पक्षमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

गाउँपालिकाले मौरीपालनलाई ‘पकेट क्षेत्र’का रूपमा विकास गर्ने दीर्घकालीन योजना अघि सारेको छ। वडा नं. २ का अध्यक्ष पिताम्बर भण्डारीले न्यून लगानीमा राम्रो आम्दानी दिन सक्ने सम्भावनाका कारण मौरीपालनलाई प्राथमिकतामा राखिएको बताए।

पालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जिवी बरालले कार्यक्रमको प्रभावकारिता उल्लेख गर्दै पहिलो चरणमा सीप विकास र त्यसपछि अनुदानमार्फत घार वितरण गरिएको बताए। “ग्रामीण क्षेत्रमा मौरीपालनको व्यापक सम्भावना छ, जसले कृषकको आयआर्जन वृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्नेछ,” उनले उल्लेख गरे।

गाउँपालिका अध्यक्ष विष्णुबहादुर के.सी.ले कृषकलाई आत्मनिर्भर बनाउने लक्ष्यअनुरूप यस्ता कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता जनाए। “मौरीपालन न्यून लगानीमा छिटो प्रतिफल दिने व्यवसाय हो, त्यसैले आगामी बजेटमा पनि यसलाई प्राथमिकतामा राख्नेछौं,” उनले स्पष्ट पारे।

उपाध्यक्ष चन्द्रकला देवकोटा अधिकारीले मौरीपालनलाई गाउँपालिकाभर विस्तार गर्दै समग्र क्षेत्रलाई आत्मनिर्भर बनाउने दीर्घकालीन रणनीति अघि बढाइएको जानकारी दिइन्।
कार्यक्रमका अवसरमा मौरीपालक समूहले स्थानीय लोकदोहोरी गायक जीवन दाहाल, भजन टुक्का समूह कास्कीका अध्यक्ष कृष्णप्रसाद अधिकारी तथा प्रशिक्षक रमेशराज पौडेललाई सम्मानसमेत गरेको थियो।

स्थानीयवासी मनहरी दाहालका अनुसार मौरीपालन प्रवर्द्धनको यो पहलले मह उत्पादन वृद्धि मात्र होइन, कृषकको जीवनस्तर उकास्न समेत महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।





सम्बन्धित खवर












