
पोखरा। हेम्जामा आयोजित १४औँ राष्ट्रिय आलु महोत्सव भव्य रूपमा सम्पन्न भएको छ। आयोजकका अनुसार महोत्सव अवधिभर ५ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ भने अन्तिम दिनसम्म मात्रै करिब ३६ लाख रुपैयाँ बराबरको आलु बिक्री भएको जनाइएको छ।
विष्णुपादुका क्लबका अध्यक्ष वसन्तकुमार श्रेष्ठका अनुसार महोत्सवमा कृषिसम्बन्धी तथा अन्य व्यावसायिक गरी १०० भन्दा बढी स्टल राखिएका थिए। तीमध्ये आलु परिकारका मात्रै ३० स्टल सञ्चालनमा थिए। महोत्सव अवलोकन गर्न १ लाखभन्दा बढी दर्शक सहभागी भएको आयोजकको दाबी छ।
समापन समारोहमा पोखरा महानगरपालिका–२५ का अध्यक्ष मोतिलाल तिम्सिनाले हेम्जा आलु महोत्सवले समग्र पोखरा क्षेत्रलाई ब्रान्डिङ गर्न सहयोग पुगेको उल्लेख गर्दै स्थानीय कृषि उत्पादन प्रवर्द्धनमा यसको महत्वपूर्ण भूमिका रहेको बताए। उनले पर्यटनसँगै कृषिलाई जोडेर अघि बढाउने महानगरको नीति महोत्सवले थप सुदृढ बनाएको धारणा राखे।
पोखरा महानगरपालिकाका आर्थिक महाशाखा प्रमुख मनोहर कडरियालले महोत्सवले कृषकको उत्पादनलाई बजारसम्म सहज पहुँच दिलाएको उल्लेख गर्दै हेम्जालाई तरकारी तथा मौसमी बालीको प्रमुख केन्द्रका रूपमा विकास गर्ने लक्ष्य रहेको बताए।
महोत्सव सफल बनाउन सबै सरोकारवाला पक्षले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गरेको भन्दै आयोजकले सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
महोत्सवअन्तर्गत आयोजित विभिन्न प्रतियोगितामा सहनशील दिदीबहिनी समूह प्रथम, कमलजौली आमा समूह द्वितीय र गौरीशंकर आमा समूह तृतीय भएका छन्। विजेताहरूले क्रमशः नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गरेका छन्।
सांस्कृतिक कार्यक्रमतर्फ चर्चित कलाकार प्रकाश सपुत, प्रेमराज अधिकारी, नेत्र खड्का, सीता परियार, ममता तामाङलगायतका प्रस्तुति आकर्षणका केन्द्र बने।
‘सुन्दर ठाउँ हेम्जा जाऔं, आलुका स्वादिष्ट परिकार खाऔं—आलु एक परिकार अनेक’ भन्ने मूल नारासहित आयोजित महोत्सवमा आलु तथा ताजा तरकारी प्रदर्शनी, कृषि झाँकी, सांस्कृतिक कार्यक्रम र कृषि औजार प्रदर्शनीसमेत गरिएको थियो।
हेम्जामा उत्पादित आलु खरिद गर्न पोखरासहित छिमेकी जिल्लाबाट ठूलो संख्यामा सर्वसाधारण सहभागी भएका थिए।





सम्बन्धित खवर












