
पोखरा — टाइगर ग्रुप अफ पोखरा, नेपालले छैटौँ टाइगर कप अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप (महिला तथा पुरुष) भलिबल प्रतियोगिता २०८२ को आय–व्यय सार्वजनिक गरेको छ।
शनिबार आयोजित पत्रकार सम्मेलनमार्फत सार्वजनिक विवरणअनुसार, गत माघ ९ देखि १७ गतेसम्म सम्पन्न प्रतियोगिताबाट कुल रु १ करोड ६० लाख ७ हजार ७ सय २५ रुपैयाँ आम्दानी भएको छ भने खर्चतर्फ रु १ करोड ३७ लाख ४२ हजार ६ सय १९ रुपैयाँ खर्च भएको छ। यसरी प्रतियोगिताबाट रु २२ लाख ६५ हजार १ सय ६ रुपैयाँ बचत भएको संस्थाका अध्यक्ष नारायण प्रसाद शर्माले जानकारी दिए।
अध्यक्ष शर्माका अनुसार यस वर्षको आम्दानी अघिल्ला पाँच संस्करणको तुलनामा सबैभन्दा बढी हो भने गत वर्षभन्दा करिब रु २ लाख बढी बचत गर्न सफल भएको छ।
आम्दानी स्रोततर्फ हेर्दा टिकट बिक्रीबाट मात्रै रु ५९ लाख ४९ हजार २८२ रुपैयाँ संकलन भएको छ। यसैगरी स्वदेश तथा विदेशका संघ–संस्थाबाट रु ४८ लाख ४३ हजार २८२, मुख्य प्रायोजकबाट रु ३० लाख, प्रदेश खेलकुद परिषद् गण्डकीबाट रु १० लाख र पोखरा महानगरपालिकाबाट पनि रु १० लाख प्राप्त भएको छ। टिम प्रवेश शुल्कबाट रु १ लाख ३५ हजार तथा सिजनल टिकटबाट रु ८० हजार आम्दानी भएको आयोजकले जनाएको छ।
पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष शर्माले बचत रकम सामाजिक विकास तथा खेलकुद क्षेत्रको उन्नयनमा प्रयोग गरिने प्रतिबद्धता व्यक्त गरे। उनले टाइगर कपले भलिबल विकासमा सकारात्मक योगदान पुर्याएको विश्वास व्यक्त गर्दै स्वदेश तथा विदेशबाट सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे।
उनका अनुसार प्रतियोगिताको सफल आयोजनले पोखरालाई खेल पर्यटनको महत्वपूर्ण गन्तव्यका रूपमा स्थापित गर्न थप मद्दत पुगेको छ। आगामी दिनमा अझ स्तरीय र अन्तर्राष्ट्रिय क्लबहरूको सहभागितासहित प्रतियोगिता आयोजना गर्ने योजना रहेको उनले बताए।
कार्यक्रममा प्रदेश खेलकुद परिषद् गण्डकीका संयोजकमा मनोनित हरिप्रसाद पराजुली, जिल्ला खेलकुद विकास समिति कास्कीका कोषाध्यक्ष आशिष थापा तथा गण्डकी प्रदेश भलिबल संघका उपाध्यक्ष विरेन्द्र खडकालाई सम्मान गरिएको थियो। कार्यक्रममा टाइगर ग्रुपका सचिव डिवी नेपालीले पनि मन्तव्य राखेका थिए।
प्रतियोगितामा पुरुषतर्फ गण्डकी प्रदेश भलिबल संघले उपाधि जित्दा महिलातर्फ डायमण्ड यूथ स्पोर्ट्स क्लब विजेता बनेको थियो।





सम्बन्धित खवर













