0Shares

पोखरा । गण्डकी प्रदेशका उत्कृष्ट खेल प्रतिभालाई सम्मान गर्ने उद्देश्यले आयोजना हुँदै आएको “दशौँ रारा पोखरा स्पोर्टस् अवार्ड–२०८२” अब वैशाख ३१ गते पोखरा इभेन्ट सेन्टरमा आयोजना हुने भएको छ। यसअघि वैशाख १८ गतेका लागि तय गरिएको कार्यक्रम विशेष कारणवश सारिएको नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले जनाएको छ।

वि.सं. २०५७ सालमा कास्कीबाट स्थापना भई हाल गण्डकी प्रदेशस्तरमा विस्तार भएको मञ्चले २०७२ सालदेखि निरन्तर रूपमा यो अवार्ड आयोजना गर्दै आएको छ। खेलाडीहरूको मनोबल अभिवृद्धि गर्दै खेलकुद क्षेत्रको समग्र विकासमा योगदान पुर्‍याउने लक्ष्यका साथ कार्यक्रमलाई निरन्तरता दिइएको हो।

यस वर्षको अवार्डमा कुल ९ विधामा सम्मान प्रदान गरिनेछ। जसमा वर्ष खेलाडी (पुरुष/महिला), पिपुल्स च्वाइस अवार्ड, लाइफ टाइम अचिभमेन्ट, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ/संस्था वा क्लब, स्पेशल अवार्ड र उत्कृष्ट खेल पत्रकार अवार्ड समावेश छन्। यस संस्करणमा पिपुल्स च्वाइस र स्पेशल अवार्ड थप गरिनु विशेष आकर्षणको रूपमा रहेको छ।

कार्यक्रमको मुख्य प्रायोजक हिम श्री फूड्स प्रालि (रारा तयारी चाउचाउ) रहेको छ। पिपुल्स च्वाइस अवार्डका लागि गुरुङ गहना घर र स्पेशल अवार्डका लागि नेलम्बो नेपालले प्रायोजन गरेका छन्।

अवार्ड प्रक्रियालाई पारदर्शी बनाउन मञ्चले प्रतिभा छनोट उपसमिति गठन गरेको छ। पिपुल्स च्वाइस अवार्डअन्तर्गत ५ खेलाडी मनोनयनमा परेका छन् र भोटिङ प्रक्रिया जारी छ। मनोनयनमा पर्ने खेलाडीहरूमा फुटबलका दीप कार्की, एथलेटिक्सकी नारायणी भण्डारी, भलिबलका राजन दर्लामी, क्रिकेटका विपिन खत्री र मुवाथाई/आईटिएफ तेक्वान्दोकी सुस्मिता थापा रहेका छन्।

अवार्ड सफल बनाउन विभिन्न समिति तथा उपसमिति गठन गरिएका छन्। मूल आयोजक समितिको संयोजकमा मञ्चका अध्यक्ष मानबहादुर घर्ति (एमबी आस्था) रहेका छन् भने सह–संयोजकमा राजाराम पौडेल र उमा आले छन्। अन्य उपसमितिहरूमा मञ्चका पदाधिकारी तथा पूर्वअध्यक्षहरूलाई जिम्मेवारी दिइएको छ।

मञ्चका महासचिव परशुराम शर्माले पत्रकार तथा सरोकारवालाहरूलाई कार्यक्रममा सहभागिता जनाई सहयोग गर्न आग्रह गरेका छन्। उनले सबैको सक्रिय सहभागिताले कार्यक्रम अझ भव्य, सभ्य र अर्थपूर्ण बन्ने विश्वास व्यक्त गरेका छन्।

कार्यक्रम सफल बनाउन गण्डकी प्रदेश सरकार, प्रदेश खेलकुद परिषद् गण्डकी, पोखरा महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद्, कास्की जिल्ला खेलकुद विकास समिति लगायत विभिन्न स्थानीय तह र संघसंस्थाहरूको विशेष सहयोग रहनेछ।

यसैगरी, विभिन्न प्रायोजक, सह–प्रायोजक, भोटिङ पार्टनर, हस्पिटालिटी पार्टनर तथा देश-विदेशमा रहेका सहयोगी संस्थाहरूबाट समेत महत्वपूर्ण सहयोग प्राप्त हुने जनाइएको छ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected