हेम्जामा मानवसेवा आश्रमको महायज्ञ : ‘मानवमुक्त राष्ट्र’ लक्ष्यसहित वैशाख १९ देखि सप्ताहव्यापी धार्मिक–सामाजिक अभियान

पोखरा । मानवसेवा आश्रम कास्की शाखाले ‘श्रीमद्भागवत सप्ताह ज्ञान–विज्ञान महायज्ञ–२०८३’ आयोजना गर्ने भएको छ। वैशाख १९ देखि २६ गतेसम्म पोखरा–२५ हेम्जामा सञ्चालन हुने महायज्ञबारे बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो।
आश्रमका परिकल्पनाकार तथा केन्द्रीय अध्यक्ष राम्जी अधिकारीले सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र निर्माण गर्ने दीर्घकालीन लक्ष्यलाई साकार पार्न महायज्ञ महत्वपूर्ण माध्यम बन्ने विश्वास व्यक्त गरे। उनका अनुसार महायज्ञबाट सङ्कलित सहयोग आश्रमको निर्माणाधीन भवन सम्पन्न गर्न, लक्ष्मीनारायण मन्दिर तथा मुक्तिनाथ सेवा धर्मशाला निर्माण गर्न र अक्षयकोष सुदृढ बनाउन उपयोग गरिनेछ।
वि.सं. २०६९ भदौ १३ गते हेटौंडा बाट सुरु भएको आश्रमको सेवा अहिले सातै प्रदेशका २१ जिल्लामा विस्तार भइसकेको छ। २९ सेवा केन्द्रमार्फत करिब दुई हजार सहयोगापेक्षी नागरिकलाई संरक्षण प्रदान गरिँदै आएको छ भने कास्कीस्थित पोखरा सेवा केन्द्रमा मात्रै हाल २७५ जना आश्रित रहेका छन्।
महायज्ञको उद्घाटन वैशाख १९ गते बिहान धार्मिक उत्साहका साथ गरिनेछ। विष्णुपादुका मन्दिर र अकलादेवी मन्दिर बाट बाजागाजा, सांस्कृतिक झाँकीसहित भव्य शोभायात्रा निकालिने कार्यक्रम तय गरिएको आयोजकले जनाएको छ।
सप्ताहभर सञ्चालन हुने महायज्ञमा योग शिविर, युवा लक्षित मनोपरामर्श तथा प्रेरणात्मक कक्षा, निःशुल्क स्वास्थ्य शिविर, दैनिक भागवत कथा प्रवचन, भजन–कीर्तन र सांस्कृतिक प्रस्तुति समावेश गरिनेछन्। कथा प्रवचन कमलनयन गौतम बाट हुने जनाइएको छ।
आश्रमको दीगो सञ्चालनका लागि आर्थिक आधार बलियो बनाउने उद्देश्यले अक्षयकोष निर्माणलाई प्राथमिकतामा राखिएको छ। हालसम्म भवन निर्माणमा करिब ८ करोड रुपैयाँ खर्च भइसकेको र थप २ करोड रुपैयाँ आवश्यक रहेको जानकारी दिइयो। त्यस्तै, आश्रम सञ्चालनका लागि मासिक करिब १० लाख रुपैयाँ खर्च हुने भएकाले सहयोगमा आउने उतार–चढावले सेवा प्रभावित हुन सक्ने भन्दै दीर्घकालीन आर्थिक व्यवस्थापनमा जोड दिइएको छ।
महायज्ञलाई व्यवस्थित र प्रभावकारी बनाउन १००१ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ। समितिको संयोजकमा अनिलकुमार शाही, सहसंयोजक धर्मराज बास्तोला, सचिव पदमबहादुर के.सी., सहसचिव भिम श्रेष्ठ, कोषाध्यक्ष मिना कुँवर र सहकोषाध्यक्ष रुद्रनाथ पौडेल रहेका छन्।
आयोजकले महायज्ञ सफल बनाउन सम्पूर्ण नागरिक, संघ–संस्था तथा सरोकारवालाबाट सक्रिय सहभागिता र सहयोगको अपेक्षा गरेको छ। यस धार्मिक–सामाजिक अभियानले मानवसेवाको सन्देशलाई अझ व्यापक बनाउँदै सामाजिक रूपान्तरणमा टेवा पुर्याउने विश्वास लिइएको छ।





सम्बन्धित खवर














