
पोखरा । पोखरा महानगरपालिका वडा नं. ७ लाई “पूर्ण खोप सुनिश्चित वडा” घोषणा गरिएको छ। वडाभित्रका १६ देखि २३ महिनासम्मका सबै बालबालिकाले सरकारले तोकेअनुसारका सम्पूर्ण खोप प्राप्त गरेपछि उक्त घोषणा गरिएको हो।
“पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा” कार्यक्रमको अवसरमा सचेतनामूलक र्याली पनि आयोजना गरिएको थियो। र्यालीले समुदायमा खोपप्रति विश्वास अभिवृद्धि गर्नुका साथै जनचेतना फैलाउन महत्त्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएको छ।
कार्यक्रममा वडाध्यक्ष राममोहन आचार्यको नेतृत्वमा वडा सदस्यहरू, टोल विकास संस्था, आमा समूह, बाबा समूह तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले खोपको महत्त्वबारे जनचेतना फैलाउँदै यसको निरन्तरता सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

वडाध्यक्ष आचार्यले समुदायस्तरमै खोपप्रति सकारात्मक धारणा विकास गर्दै बालबालिकाको स्वास्थ्य सुरक्षा सुदृढ बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए। “पूर्ण खोप सुनिश्चितता घोषणा मात्रै होइन, त्यसको दिगोपना कायम राख्नु अहिलेको मुख्य आवश्यकता हो,” उनले भने।
र्यालीलाई आकर्षक बनाउन वडाबाट विनियोजित बजेटमार्फत तालिमप्राप्त पंचेबाजा समूहले बाजागाजासहित सहभागिता जनाएको थियो। सांस्कृतिक झल्कोसहितको प्रस्तुति स्थानीयवासीका लागि आकर्षणको केन्द्र बनेको थियो।
वडा नं. ७ र ९ को सीमाबाट सुरु भएको र्याली विभिन्न स्थान परिक्रमा गर्दै राधाकृष्ण मन्दिरमा पुगेर समापन गरिएको थियो। र्यालीभर “सबै बालबालिकालाई खोप, स्वस्थ भविष्यको आधार” लगायतका सन्देश बोकेका प्लेकार्ड र नाराहरू प्रदर्शन गरिएका थिए।
शहरी स्वास्थ्य केन्द्र–७, रत्नचोकको समन्वयमा आयोजित कार्यक्रममा वडाभित्र कुनै पनि बालबालिका खोपबाट वञ्चित नरहेको सुनिश्चित गरिएको जनाइएको छ। कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा सरोकारवालाहरूले आगामी दिनमा पनि खोप सेवा निरन्तरता दिँदै कुनै पनि बालबालिका खोपबाट छुट्न नदिने प्रतिबद्धता व्यक्त गरेका छन्।
खोप समन्वय समिति, स्वास्थ्य संस्था व्यवस्थापन समिति, महिला स्वास्थ्य स्वयंसेविका, आमा समूह, युवा क्लब, शिक्षक, विद्यार्थी तथा स्थानीय बासिन्दाहरूको सक्रिय सहभागितामा वडालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो।
कार्यक्रमका वक्ताहरूले पूर्ण खोप सुनिश्चितता कायम राख्न समुदायको निरन्तर सहकार्य अपरिहार्य रहेको औँल्याए। खोपले बालबालिकालाई विभिन्न घातक रोगबाट जोगाउने भएकाले यसको पहुँच र नियमितता अझ सुदृढ गर्नुपर्नेमा उनीहरूले जोड दिए।
वडाले आगामी दिनमा पनि बालबालिकाको अवस्थाअनुसार खोप सेवा नियमित सञ्चालन गर्दै “पूर्ण खोप दिगोपना” कायम राख्ने लक्ष्य लिएको जनाएको छ।





सम्बन्धित खवर















