एफएनसीसीआईको नेतृत्वमा पोखराका अञ्जन श्रेष्ठ

पोखरा — नेपालको निजी क्षेत्रको सबैभन्दा ठूलो छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अब पोखरासँग जोडिएका व्यवसायी अञ्जन श्रेष्ठको नेतृत्वमा पुगेको छ। महासंघको ६०औँ वार्षिक साधारणसभा तथा अधिवेशनपछि वरिष्ठ उपाध्यक्ष रहेका श्रेष्ठ विधानअनुसार स्वतः २१औँ अध्यक्ष बनेका हुन्।
वि.सं. २०२२–२४ मा प्रथम अध्यक्ष लोकनाथ जोशीबाट सुरु भएको महासंघको नेतृत्व यात्रामा हालसम्म २० जना अध्यक्ष भइसकेका छन्। अब उक्त जिम्मेवारी श्रेष्ठले सम्हालेका छन्।
२०८० वैशाखमा वरिष्ठ उपाध्यक्ष निर्वाचित भएका श्रेष्ठ यसपटक प्रत्यक्ष निर्वाचनमा उम्मेदवार नबने पनि उनले समर्थन गरेको प्यानलले अधिकांश पदमा जित निकाल्दै महासंघभित्र उनको प्रभाव स्पष्ट देखाएको छ। विशेषगरी जिल्ला–नगरतर्फ श्रेष्ठ समूहको वर्चस्व देखिएको छ।
संशोधित विधानअनुसार अबदेखि महासंघको अध्यक्ष प्रत्यक्ष निर्वाचनबाट चयन हुनेछ। यसअघि तीन वर्षे कार्यकाल रहने व्यवस्था रहेकामा अब अध्यक्षको कार्यकाल दुई वर्षको हुनेछ।
महासंघमा दुई दशकभन्दा लामो सक्रियता
करिब साढे दुई दशकदेखि महासंघमा सक्रिय श्रेष्ठले कार्यकारिणी सदस्यदेखि वस्तुगत उपाध्यक्षसम्मका जिम्मेवारी सम्हालिसकेका छन्। उनी नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालका पूर्वअध्यक्ष समेत हुन्।
व्यावसायिक रूपमा ‘लक्ष्मी ग्रुप’का कार्यकारी निर्देशक रहेका श्रेष्ठले अटोमोबाइल, स्टिल, खाद्य, प्लास्टिक तथा कन्फेक्सनरी क्षेत्रमा समूहको विस्तार गरेका छन्। हुन्डाई गाडीको आधिकारिक विक्रेताका रूपमा समूहले अटोमोबाइल क्षेत्रमा उल्लेख्य उपस्थिति बनाएको छ भने विभिन्न उद्योगमार्फत हजारौँलाई रोजगारी उपलब्ध गराउँदै आएको छ।
निर्वाचनमा श्रेष्ठ समूहको प्रभाव
निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालको कार्यकाल सकिएसँगै सम्पन्न निर्वाचनबाट महासंघका नयाँ पदाधिकारी तथा कार्यसमिति चयन भएका हुन्।
जिल्ला–नगरतर्फ श्रेष्ठ पक्ष स्पष्ट रूपमा हाबी देखियो। उक्त समूहबाट कृष्णप्रसाद शर्मा र दिलसुन्दर श्रेष्ठ उपाध्यक्षमा निर्वाचित भए भने १५ मध्ये १३ कार्यकारिणी सदस्य श्रेष्ठनिकट मानिएका छन्।
यद्यपि वस्तुगततर्फ भने श्रेष्ठ समूहले अपेक्षित सफलता पाउन सकेन। उनले समर्थन गरेका शिव घिमिरे उपाध्यक्षमा पराजित हुँदा नरेशलाल श्रेष्ठ विजयी भए। सदस्यतर्फ पनि ढकाल समूहको प्रभाव देखिएको छ।
महासंघको एसोसिएट उपाध्यक्षमा प्रबलजंग पाण्डे निर्वाचित भएका छन्। वस्तुगत उपाध्यक्षमा नरेशलाल श्रेष्ठ तथा जिल्ला–नगर उपाध्यक्षमा कृष्णप्रसाद शर्मा र दिलसुन्दर श्रेष्ठ विजयी भएका हुन्।
वस्तुगततर्फ निर्वाचित सदस्य
अरनिको राजभण्डारी, नानिराज घिमिरे, पशुपतिदेव पाण्डे, विदुर धमला, भक्तबहादुर हमाल, रविन पुरी, राजकुमार कार्की, लिलेन्द्र प्रधान, संघर्ष विष्ट, सागर ढकाल र होमप्रसाद घिमिरे निर्वाचित भएका छन्।
सुरज बन्जाडे, विप्लप अधिकारी, रघुनन्दन मारु र निराज चलाउनेले समान ५०–५० मत प्राप्त गरेपछि उनीहरूबीच कार्यकाल निर्धारणका लागि गोलाप्रथा गरिने तयारी गरिएको छ।
एसोसिएटतर्फ निर्वाचित सदस्य
सचिन ढकाल, हेमन्त गोल्छा, अम्बिकाप्रसाद पौडेल, उज्ज्वलकुमार श्रेष्ठ, शक्तिकुमार बेगानी, ऋषि अग्रवाल, राजेशकुमार अग्रवाल, सुयस प्याकुरेल, सुशील थापा, रामशरण भण्डारी, बाबुकाजी कार्की, दिवश न्यौपाने, प्रियराज रेग्मी, ईश्वरबहादुर जिसी, सुरज उप्रेती, कृष्णलाल महर्जन र बटु लामिछाने निर्वाचित भएका छन्।
जिल्ला–नगरतर्फ निर्वाचित सदस्य
अर्जुनकुमार श्रेष्ठ, उज्ज्वलप्रसाद कसजु, केशवप्रसाद भण्डारी, कृष्ण कटुवाल, गोकुल श्रेष्ठ, छत्रधर आत्रेय, ताराबहादुर कार्की, प्रयास श्रेष्ठ, मोहनप्रसाद श्रेष्ठ, लक्ष्मणराज पौडेल, शंकर गिरी, सन्तोष खड्का, सुदर्शन कार्की र हरिप्रसाद अर्याल निर्वाचित भएका छन्।
महिला सदस्यतर्फ गीता अमात्य र हिरा भट्टराई विजयी भएका छन्।
‘६ स्तम्भ–६० पहल’मार्फत नयाँ अभियान
अध्यक्षको जिम्मेवारी सम्हालेपछि श्रेष्ठले निजी क्षेत्रको मनोबल पुनर्स्थापना, लगानीमैत्री वातावरण निर्माण तथा सरकारसँग सहकार्यलाई प्राथमिकतामा राख्ने बताएका छन्।
उनका अनुसार नेपालको अर्थतन्त्रमा निजी क्षेत्रको योगदान करिब ८२ प्रतिशत तथा रोजगारीमा ८६ प्रतिशत रहेको छ।
श्रेष्ठले “६ स्तम्भ–६० पहल” अवधारणामार्फत निजी क्षेत्र–सरकार सम्बन्ध सुदृढीकरण, लगानी प्रवर्द्धन, निजी सम्पत्तिको सुरक्षा, संस्थागत सुधार र नीतिगत पैरवीलाई तीव्र बनाउने योजना अघि सारेका छन्।
उनले उद्यमीलाई “सम्पत्ति निर्माता”का रूपमा स्थापित गर्ने र व्यावसायिक गतिविधिलाई अपराधीकरण गर्ने प्रवृत्तिको अन्त्यका लागि पहल गर्ने प्रतिबद्धता समेत जनाएका छन्।
श्रेष्ठका अनुसार अर्थतन्त्र अहिले अवसर र चुनौतीको दोधारमा छ। पर्याप्त तरलता, विदेशी मुद्रा सञ्चिति र सम्भावित नीतिगत स्थिरता सकारात्मक पक्ष भए पनि अन्तर्राष्ट्रिय संकट, राजस्व–व्यय असन्तुलन, कमजोर कर्जा प्रवाह र घट्दो व्यावसायिक आत्मविश्वास मुख्य चुनौती बनेका छन्।
महासंघलाई केन्द्रदेखि जिल्लासम्म थप प्रभावकारी बनाउने, अनुसन्धानमा आधारित नीति वकालतलाई तीव्रता दिने तथा पारदर्शी र सेवा–मुखी संरचना निर्माण गर्ने प्रतिबद्धतासहित श्रेष्ठले निजी क्षेत्र र सरकारबीच सहकार्यको नयाँ अध्याय सुरु गर्ने उद्घोष गरेका छन्।






















