0Shares

काठमाडौं, वैशाख २५ । नेपाली कांग्रेसले पार्टीको भ्रातृ संस्था नेपाल महिला संघको अध्यक्षमा चितवनकी मीनाकुमारी खरेललाई नियुक्त गरेको छ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको वैशाख २१ गते बसेको बैठकको निर्णयअनुसार पार्टी सभापति Gagan Kumar Thapa ले पार्टी विधान २०१७ (संशोधन सहित) को धारा ४२ (१) (च) बमोजिम खरेललाई अध्यक्ष पदको जिम्मेवारी दिएका हुन्।

यसअघि नेपाल महिला संघको कार्यसमितिको म्याद समाप्त भएसँगै संगठन स्वतः विघटन भएको थियो। नव नियुक्त अध्यक्ष खरेललाई तोकिएको समयभित्र महाधिवेशन सम्पन्न गर्ने जिम्मेवारीसहित १७ बुँदे कार्यादेश प्रदान गरिएको कांग्रेसले जनाएको छ।

कार्यादेशअनुसार खरेलले २०८३ जेठ १५ गतेभित्र समावेशी प्रतिनिधित्व सुनिश्चित हुने गरी केन्द्रीय कार्यसमितिलाई पूर्णता दिनुपर्नेछ। यस्तै, श्रावण मसान्तभित्र तल्लो तहका समितिहरू पुनर्गठन गरी अधिवेशन आयोजक समिति गठन गर्नुपर्ने व्यवस्था गरिएको छ।

नेपाल महिला संघको केन्द्रीय महाधिवेशन २०८३ फागुन १५ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। त्यसका लागि श्रावण १ गतेभित्र विस्तृत कार्यतालिका पार्टीसमक्ष पेश गर्नुपर्ने उल्लेख छ।

कांग्रेसले संगठनभित्र अनुशासन, पारदर्शिता र लोकतान्त्रिक संस्कृतिलाई सुदृढ बनाउने, सदस्यताको डिजिटल अभिलेख तयार गर्ने तथा विभिन्न क्षेत्रका महिलालाई संगठनमा जोड्ने अभियान सञ्चालन गर्न पनि निर्देशन दिएको छ।

त्यस्तै, महिला अधिकार, लैंगिक समानता, सामाजिक सशक्तिकरण, साइबर बुलिङ, महिला हिंसा, दाइजो, छाउपडी, बोक्सी प्रथाजस्ता कुरीतिविरुद्ध अभियान सञ्चालन गर्ने जिम्मेवारी पनि कार्यादेशमा समेटिएको छ।

महिला हिंसाबाट पीडितका लागि हेल्पडेस्क सञ्चालन, मानसिक स्वास्थ्यसम्बन्धी कार्यक्रम, वैदेशिक रोजगारीमा रहेका तथा फर्किएका महिलाको अधिकार संरक्षण र उद्यमशीलता विकासका कार्यक्रम सञ्चालन गर्न पनि निर्देशन दिइएको छ।

कांग्रेसका का.वा. मुख्य सचिव Krishna Prasad Dulal द्वारा जारी प्रेस विज्ञप्तिमा महिला संघलाई सबल, सक्षम र प्रभावकारी संगठनका रूपमा विकास गर्ने उद्देश्य राखिएको उल्लेख गरिएको छ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected