0Shares

बालबालिकाको उज्ज्वल भविष्यका लागि अभिभावक–विद्यालय सहकार्यमा जोड

पोखरा, वैशाख २७ । सेफ किड्स प्रि-स्कुलद्वारा आयोजित “गुड पेरेंटिङ कार्यक्रम २०८३” आइतबार विद्यालय परिसरमा उत्साहपूर्वक सम्पन्न भएको छ। कार्यक्रममा अभिभावक, शिक्षक–शिक्षिका तथा विद्यालय व्यवस्थापनको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रमको सञ्चालन विद्यालयकी प्रिन्सिपल नारायणी कोइरालाले गरेकी थिइन् भने अध्यक्षता विद्यालयका प्रमुख प्रशासकीय अधिकृत टेकमान प्रधानाङ्गले गरेका थिए। कार्यक्रममा विद्यालय परिवारसँगै अभिभावकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रममा शिक्षिका प्रमिशा गुरुङले विद्यालयको पाठ्यक्रम, सिकाइ पद्धति तथा दैनिक कार्यतालिकाबारे जानकारी गराएकी थिइन्। स्वागत मन्तव्य राख्दै प्रिन्सिपल नारायणी कोइरालाले असल अभिभावकत्वले बालबालिकाको बौद्धिक, भावनात्मक र सामाजिक विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने बताइन्।

अभिभावक खुशी शर्माले “गुड पेरेंटिङ” सम्बन्धी आफ्ना अनुभव साझा गर्दै बालबालिकासँग गुणस्तरीय समय बिताउनु आजको आवश्यकता भएको उल्लेख गरिन्। कार्यक्रममा पत्रकार कमल पौडेलले सकारात्मक अनुशासन, भावनात्मक सहयोग तथा प्रभावकारी संवादले बालबालिकाको आत्मविश्वास वृद्धि हुने बताए।

कार्यक्रममा बालबालिकाको व्यवहार सुधार, अनुशासन, नियमित दिनचर्या, स्वस्थ खानपान, मोबाइल तथा टेलिभिजनको सीमित प्रयोग, खेलमार्फत सिकाइ तथा शिक्षक–अभिभावक सहकार्यजस्ता विषयमा अभिमुखीकरण गरिएको थियो। विद्यालयले बालबालिकासँग प्रेम, सम्मान र धैर्यपूर्ण व्यवहार गर्न अभिभावकलाई आग्रह गरेको थियो।

यसैबीच, नृत्य तथा खेलकुद कार्यक्रम शिक्षिका अस्मिता गुरुङले सञ्चालन गरेकी थिइन् भने कार्यक्रम व्यवस्थापनमा शिक्षिका मिना सुनारको सहयोग रहेको थियो।

कार्यक्रममा सहभागी केही अभिभावकहरूले सरकारी बिदा अत्यधिक भएकाले आइतबार समेत बालबालिकालाई शैक्षिक तथा सिर्जनात्मक गतिविधिमा सहभागी गराउनुपर्ने धारणा राखेका थिए। उनीहरूले विद्यालय र अभिभावकबीच अझ प्रभावकारी समन्वय आवश्यक रहेकोमा पनि जोड दिएका थिए।

कार्यक्रमको समापनमा सिईओ टेकमान प्रधानाङ्गले धन्यवाद ज्ञापन गर्दै विद्यालय र अभिभावकबीचको सहकार्यले बालबालिकाको उज्ज्वल भविष्य निर्माणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected