
पोखरा, ७ वैशाख — पोखरा महानगरपालिका–१७ स्थित छोरेपाटन माध्यमिक विद्यालयले आगामी शैक्षिक सत्रदेखि कक्षा ११ र १२ मा होटल व्यवस्थापन (एचएम्) विषयको पढाइ सुरु गर्ने भएको छ। विद्यालयले आवश्यक तयारी अन्तिम चरणमा पुर्याएको र पहिलो वर्ष कक्षा ११ मा ४० जना विद्यार्थी भर्ना गर्ने लक्ष्य राखिएको प्रधानाध्यापक डिल्लीराम शर्मा भुषालले जानकारी दिए।
पर्यटकीय शहर पोखरामा वर्षेनी लाखौँ पर्यटक आगमन हुने सन्दर्भमा होटल व्यवस्थापन अध्ययनको आवश्यकता बढ्दै गएको उल्लेख गर्दै प्रधानाध्यापक भुषालले स्थानीय माग र सम्भावनालाई मध्यनजर गर्दै नयाँ कार्यक्रम सञ्चालन गर्न लागिएको बताए। उनका अनुसार एचएम् अध्ययनप्रति विद्यार्थीको आकर्षण राम्रो रहेको र यसबाट रोजगारीका अवसर पनि सहज हुने विश्वास गरिएको छ।
हाल विद्यालयमा बालविकासदेखि कक्षा १० सम्म तथा कक्षा ११–१२ मा विज्ञान, शिक्षा, व्यवस्थापन र सामाजिक विषय समूहको पढाइ सञ्चालन हुँदै आएको छ। चालु शैक्षिक सत्रमा करिब २ हजार ३ सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन्।
विद्यालयले अनुभवी शिक्षकमार्फत गुणस्तरीय तथा सर्वसुलभ शिक्षा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ। सहायक प्रधानाध्यापक खेमराज बरालका अनुसार विद्यालय प्रविधिमैत्री वातावरणमा सञ्चालन भइरहेको छ र अतिरिक्त तथा सह–क्रियाकलापलाई अझ सुदृढ बनाइनेछ।
यसैबीच, सहायक प्रधानाध्यापक मेघनाथ पौडेलले एचएम् कार्यक्रम सुरु भएसँगै छोरेपाटन, विरौटा, पुम्दीभुम्दी, कृस्ती, निर्मलपोखरी लगायत क्षेत्रका विद्यार्थीले होटल व्यवस्थापन अध्ययनका लागि बाहिर जानुपर्ने बाध्यता अन्त्य हुने विश्वास व्यक्त गरे।





सम्बन्धित खवर














