
पोखरा। पोखरा लेडी जेसीजले आफ्नो वार्षिक कार्यक्रम ‘जेसीज सप्ताह–२०२६’ अन्तर्गत ‘माइन्यूट लेखन तथा वित्त व्यवस्थापन’ विषयक एकदिने तालिम सम्पन्न गरेको छ। “सीप र सेवा : सफल व्यक्ति, सुदृढ समाज” भन्ने मूल नारासहित सञ्चालित सप्ताहको तेस्रो दिन उक्त तालिम पोखरा महानगरपालिका वडा नं. २० को सहकार्यमा आयोजना गरेको हो।
पोखरा–२० स्थित वडा कार्यालयको सभाहलमा सम्पन्न कार्यक्रममा स्थानीय जनप्रतिनिधि, टोल विकास संस्था, आमा समूह, सहकारी संस्थाका अध्यक्ष, सचिव तथा कोषाध्यक्षहरूका साथै जेसीज सदस्यहरूको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरूलाई संस्थागत अभिलेख व्यवस्थापन, निर्णय लेखन (माइन्यूटिङ), आर्थिक पारदर्शिता तथा वित्तीय साक्षरतासम्बन्धी व्यवहारिक ज्ञान प्रदान गरिएको थियो।
पोखरा लेडी जेसीजका अध्यक्ष सुनिता गौतम भण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा वडा नं. २० का अध्यक्ष गंगा बहादुर खत्री सहित वडा सचिव राम प्रसाद तिवारी, लेखा व्यवस्थापक धर्मराज बुढा लगायतको सहभागिता रहेको थियो।
तालिममा माछापुछ्रे बैंकका शाखा प्रबन्धक किशोर थापाले वित्तीय साक्षरतासम्बन्धी प्रशिक्षण दिएका थिए भने पोखरा जेसिजका पूर्व अध्यक्ष एवं अधिवक्ता देवराज शर्माले माइन्यूट लेखनसम्बन्धी सहजीकरण गरेका थिए। कार्यक्रमको मूल संयोजक विनिता केसी तथा संयोजक अन्जना सुवेदी रहेका छन् ।
कार्यक्रममा बोल्दै अध्यक्ष भण्डारीले सदस्यहरूको नेतृत्व क्षमता अभिवृद्धिसँगै प्रशासनिक र आर्थिक दक्षता विकासका लागि यस्ता तालिम प्रभावकारी हुने विश्वास व्यक्त गरिन् । उनले तालिमले सहभागीहरूको व्यक्तिगत तथा व्यावसायिक जीवनमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा समेत गरिन् ।
पोखरा लेडी जेसीजद्वारा सञ्चालित ‘जेसीज सप्ताह–२०२६’ अन्तर्गत यसअघि साइबर अपराध तथा बैंकिङ साक्षरता कार्यक्रम, निःशुल्क आँखा शिविर लगायतका कार्यक्रम सम्पन्न भइसकेका छन्। सप्ताह अन्तर्गतका अन्य सामाजिक तथा रचनात्मक कार्यक्रम वैशाख ३१ गते (मे १४) सम्म जारी रहने संस्थाले जनाएको छ। आज सम्पन्न कार्यक्रमलाई प्रभु बैक तथा वस्तालयले प्रायोजन गरेका थिए ।







सम्बन्धित खवर














