पोखराबाट कांग्रेस सभापति थापाको चेतावनी: संबिधान माथिको हस्तक्षेप स्वीकार्य हुदैन

पोखरा। पोखरामा आयोजित नेपाली कांग्रेसको विशेष प्रादेशिक भेलामा पार्टीका शीर्ष नेताहरूले वर्तमान सरकारको कार्यशैली, कांग्रेसको आन्तरिक सुधार, डिजिटल रूपान्तरण र आगामी निर्वाचन रणनीतिबारे धारणा राख्दै पार्टीलाई नयाँ ढंगले अघि बढाउने संकेत दिएका छन्।
कार्यक्रममा नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले संविधान र कानुनको सीमाभन्दा बाहिर गएर शासन चलाउने प्रयास भइरहेको आरोप लगाउँदै लोकतान्त्रिक पद्धति र संवैधानिक मूल्यको रक्षा गर्न कांग्रेस दृढ भएर उभिने चेतावनी दिए।
उनले सरकारले निजी क्षेत्रमाथि अनावश्यक हस्तक्षेप बढाएको, कानुनी प्रक्रिया मिचेर प्रहरी प्रयोग गरी व्यवसायीलाई त्रसित बनाएको तथा सीमामा सय रुपैयाँभन्दा बढी मूल्यको सामान ल्याउँदा भन्सार लगाउने निर्णयले जनतामाथि अतिरिक्त बोझ थपिएको टिप्पणी गरे। सरकारमा नरहे पनि नागरिकलाई सहजता दिलाउने र गलत नीतिमाथि प्रश्न उठाउने जिम्मेवारी कांग्रेसको भएको उनको भनाइ थियो।

महामन्त्री थापाले गत निर्वाचनमा कांग्रेस “भौतिक रूपमा होइन, डिजिटल स्पेसमा पराजित भएको” स्वीकार गर्दै पार्टीसँग विचार र सामग्री भए पनि त्यसलाई जनतासम्म प्रभावकारी रूपमा पुर्याउने आधुनिक संरचना कमजोर रहेको बताए। अब कांग्रेसलाई पूर्ण रूपमा प्रविधिमैत्री बनाइने र नौ लाख सक्रिय सदस्यलाई डिजिटल प्रणालीमा आबद्ध गरिने जानकारी दिँदै उनले प्रत्येक सदस्यलाई डिजिटल आइडी प्रदान गरी केन्द्रबाट प्रत्यक्ष संवाद गर्ने योजना सार्वजनिक गरे।
उम्मेदवार छनोट प्रणालीमा समेत सुधार गरिने संकेत गर्दै उनले वडा अध्यक्षका उम्मेदवार केन्द्रबाट नभई सम्बन्धित वडाका सक्रिय सदस्यहरूको रायका आधारमा चयन गरिने बताए। डिजिटल माध्यमबाट सुझाव संकलन गरी योग्य र लोकप्रिय व्यक्तिलाई अवसर दिने नीति अपनाइने उनको भनाइ थियो। यसले गुटबन्दी कमजोर पार्दै आन्तरिक लोकतन्त्रलाई बलियो बनाउने उनले दाबी गरे।
थापाले पछिल्लो निर्वाचनमा कांग्रेसलाई मत नदिएका करिब १० लाख मतदातासँग पुनः संवाद गर्नुपर्ने चुनौती कार्यकर्तासामु रहेको उल्लेख गरे। विशेषगरी नयाँ पुस्तासँग प्रत्यक्ष संवाद गर्नुपर्ने आवश्यकता औँल्याउँदै सामाजिक सञ्जालमार्फत फैलाइएका भ्रम चिर्न पार्टी सक्रिय हुनुपर्ने बताए।

कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले भौतिक पूर्वाधार निर्माण मात्र विकासको मापदण्ड नभएको उल्लेख गर्दै बाल श्रम, घरेलु हिंसा र जातीय विभेद घटाउने कामलाई स्थानीय सरकारको सफलताको आधार मान्नुपर्ने धारणा राखे। अजित मिजार प्रकरण उल्लेख गर्दै उनले सामाजिक न्यायका सवालमा कांग्रेस स्पष्ट र सक्रिय हुनुपर्ने बताए।
शर्माले वर्तमान गठबन्धनप्रति कांग्रेस प्रतिबद्ध रहेको स्पष्ट पार्दै सरकारलाई संविधान र लोकतान्त्रिक मूल्यभित्र रहेर काम गर्न आग्रह गरे। सकारात्मक काममा प्रतिपक्षले साथ दिने तर संसदीय मूल्य–मान्यताको अपमान भए कांग्रेस चुप नबस्ने चेतावनी पनि उनले दिए।

महामन्त्री गुरु घिमिरेले कांग्रेस अब पुरानो भागबण्डा र कार्यशैलीबाट मुक्त हुनुपर्ने धारणा राखे। पोखराको फेवातालमा साङ्लो नफुकाई डुंगा खियाएको कथामार्फत उनले कांग्रेस पुराना सोचकै कारण अघि बढ्न नसकेको टिप्पणी गर्दै युवापुस्तालाई आकर्षित गर्ने आधुनिक र डिजिटल संरचना आवश्यक रहेको बताए।

कांग्रेस प्रवक्ता देवराज चालिसेले वर्तमान सरकार आफ्नै कमजोरीका कारण संकटतर्फ उन्मुख भएको आरोप लगाउँदै जनताले महसुस गर्ने गरी सेवा प्रवाह सुधार गर्नुपर्ने बताए।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पार्टीभित्र भावनात्मक र मानसिक एकता आवश्यक रहेको उल्लेख गर्दै नेतृत्व तहको सहमतिले मात्र पर्याप्त नहुने, कार्यकर्ताले समेत कांग्रेस एक भएको अनुभूति गर्नुपर्ने बताए।

नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले कांग्रेसमा अब कुनै गुट नरहेको दाबी गर्दै सुशासन, समृद्धि र महँगी नियन्त्रणको अभियानमा पार्टी निरन्तर लागिरहेको बताए। युवाका माग सम्बोधन गर्दै कांग्रेस अगाडि बढ्ने उल्लेख गर्दै उनले “नेपाली कांग्रेस खुला किताब” भएको टिप्पणी गरे।
प्रतिष्ठानका उपाध्यक्ष मधु आचार्यले अब पराजयको समीक्षा सकिएको र आगामी निर्वाचन जित्ने रणनीतिमा केन्द्रित हुनुपर्ने बताए। स्थानीय तथा प्रदेश सरकारका चार वर्षे कामको समीक्षा गर्दै अन्तिम वर्षलाई जनमुखी कार्यक्रममार्फत प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिए।

गाउँपालिका महासंघकी अध्यक्ष लक्ष्मी पाण्डेले जनप्रतिनिधि र पार्टी संगठनबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताइन्। कामकै आधारमा आगामी निर्वाचनको वातावरण बन्ने भएकाले बाँकी एक वर्षमा अधुरा योजना पूरा गर्नुपर्ने उनको भनाइ थियो।
नेपाली कांग्रेस गण्डकी प्रदेशकी उपसभापति कल्पना तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश महामन्त्री विष्णुप्रसाद लामिछाने, नेपाली कांग्रेस कास्की सभापति किशोरदत्त बराललगायत नेताहरूले मन्तव्य राखेका थिए।
नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित दुईदिने प्रादेशिक भेलामा गण्डकी प्रदेशका ११ जिल्लाबाट आएका जनप्रतिनिधि, पार्टी पदाधिकारी र कार्यकर्ताको सहभागिता रहेको थियो। कार्यक्रममा आगामी नीति, बजेट, संगठन सुदृढीकरण र चुनावी तयारीबारे समूहगत छलफलसमेत गरिएको थियो।







© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले
जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।















