
पोखरा। पोखरामा रात्रीकालीन व्यवसाय सञ्चालनसम्बन्धी आचारसंहिता प्रभावकारी रूपमा कार्यान्वयन नभएको भन्दै पर्यटन व्यवसायी तथा संघसंस्थाहरूले जिल्ला प्रशासन कार्यालय कास्कीको ध्यानाकर्षण गराएका छन्।
होटल संघ पोखरा नेपाल लगायत पोखराका करिब दुई दर्जन पर्यटनसम्बद्ध संघसंस्थाले प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई बुझाएको पत्रमा ४२ बुँदे आचारसंहिताको कडाइका साथ अनुगमन गर्न माग गरिएको हो।
यसअघि जिल्ला प्रशासन कार्यालय कास्की र पोखरा महानगरपालिकाको समन्वयमा लेकसाइड, ड्यामसाइड लगायत क्षेत्रमा ४२ बुँदे आचारसंहिता पालना गर्ने सर्तमा २४सै घण्टा वा रातभर व्यवसाय सञ्चालन गर्न दिने सहमति भएको थियो। तर, उक्त सहमति प्रभावकारी रूपमा कार्यान्वयन नभएको व्यवसायीहरूको गुनासो छ।
व्यवसायीहरूले अनुगमन कमजोर हुँदा मदिरा बिक्रीमा अनियन्त्रित अवस्था, ध्वनि प्रदूषण, रातभर मोटरसाइकलको ठूलो आवाज, झगडा, लागूऔषध प्रयोग तथा पर्यटक र स्थानीयवासी त्रसित हुने अवस्था बढेको बताएका छन्। पर्याप्त सिसिटिभी र सुरक्षा संयन्त्रको अभावले दोषी पहिचान गर्न कठिन भएको पनि उनीहरूको भनाइ छ।
ध्यानाकर्षण पत्रमा राति २ बजेपछि सम्पूर्ण रात्रीकालीन व्यवसाय बन्द गराउन माग गरिएको छ। साथै, पर्यटकलाई जबर्जस्ती होटलतर्फ तान्ने, बाइकबाट पछ्याउने तथा विभिन्न प्रलोभन देखाएर त्रसित पार्ने गतिविधि रोक्न सम्बन्धित होटल सञ्चालक र कर्मचारीमाथि कारबाही गर्न पनि आग्रह गरिएको छ।
पत्रमा पोखरा पर्यटन परिषद्, होटल संघ नेपाल गण्डकी, वडा नं. ६ का अध्यक्ष विष्णुबहादुर भट्टराई लगायत विभिन्न पर्यटन तथा व्यवसायिक संघसंस्थाका प्रतिनिधिहरूको हस्ताक्षर रहेको उल्लेख गरिएको छ।







सम्बन्धित खवर















