0Shares

“Service First, Mark Forever” थीमसहित सेवामुखी नेतृत्व निर्माणमा जोड

पोखरा । लायन्स डिष्ट्रिक्ट ३२५ आर नेपालले लायन वर्ष २०२६/२०२७ का लागि मनोनित क्याबिनेट अफिसरहरूलाई लक्षित गर्दै पोखरामा तीनदिने ‘क्याबिनेट अफिसर्स स्कुलिङ्ग’ कार्यक्रम सुरु गरेको छ। कार्यक्रमको उद्देश्य आगामी कार्यकाललाई प्रभावकारी, सेवामुखी तथा परिणाममुखी बनाउनु रहेको आयोजकले जनाएको छ।

डिष्ट्रिक्ट क्याबिनेट सेक्रेटरी पूर्ण शर्माका अनुसार स्कुलिङ्ग कार्यक्रममा १६३ जना क्याबिनेट अफिसरहरूको सहभागिता रहेको छ। तीन दिनसम्म सञ्चालन हुने कार्यक्रममा नेतृत्व विकास, संगठन विस्तार, सामुदायिक सेवा, संस्थागत सुदृढीकरण तथा सामाजिक उत्तरदायित्वका विविध विषयमा प्रशिक्षण तथा अन्तरक्रियात्मक सत्र सञ्चालन गरिनेछन्।

यस वर्षको कार्यक्रमको मुख्य आकर्षण नवनिर्वाचित डिष्ट्रिक्ट गभर्नर प्रभाकर पण्डितले अघि सारेको थीम “Service First, Mark Forever” अर्थात् “पहिले सेवा गरौँ, अमिट छाप छोडौँ” रहेको छ। उक्त थीममार्फत सेवा नै संगठनको पहिलो प्राथमिकता हुनुपर्ने र सेवाबाट समाजमा दीर्घकालीन सकारात्मक प्रभाव छोड्न सकिने सन्देश प्रवाह गरिएको गभर्नर पण्डितले बताए।

उद्घाटन सत्रलाई सम्बोधन गर्दै गभर्नर पण्डितले लायन्सको मूल मन्त्र “We Serve” केवल नारामा सीमित नरही व्यवहारमा उतारिनुपर्ने धारणा व्यक्त गरे। उनले सेवा, अनुशासन र समर्पणलाई संगठनको वास्तविक शक्ति भएको उल्लेख गर्दै आगामी कार्यकालमा समुदायले प्रत्यक्ष अनुभूति गर्ने खालका सेवा कार्यक्रम सञ्चालन गरिने स्पष्ट पारे।

उनले भने, “हामी केवल पदका लागि नेतृत्व गर्ने होइनौं, आशा बाँड्ने, विश्वास जगाउने र समाजमा सकारात्मक परिवर्तन ल्याउने अभियानका प्रतिनिधि हौं। सेवा हाम्रो पहिलो प्राथमिकता बन्नुपर्छ, ताकि हाम्रो कामले समाजमा अमिट छाप छोड्न सकोस्।”

गभर्नर पण्डितले आफ्नो कार्यकालमा सदस्यता विस्तार, युवा नेतृत्व विकास, महिला तथा बालबालिकाको सशक्तीकरण, स्वास्थ्य सेवाको पहुँच विस्तार, वातावरण संरक्षण तथा समुदायसँगको सहकार्यलाई विशेष प्राथमिकतामा राखिने जानकारी दिए। उनका अनुसार लायन्स अभियानलाई अझ जनविश्वासयुक्त, प्रभावकारी र गाउँ–बस्ती केन्द्रित बनाइनेछ।

कार्यक्रमको उद्घाटन सत्रमा पूर्व अन्तर्राष्ट्रिय डाईरेक्टर बालकृष्ण बुर्लाकोटी, अन्तर्राष्ट्रिय डाईरेक्टर (इन्ड्रोर्सी)राजन लम्साल, मल्टिपल काउंसिल चेयरपर्सन मिलन थापा, वर्तमान डिष्ट्रिक्ट गभर्नर नवराज सापकोटा, प्रथम भाईस डिष्ट्रिक्ट गभर्नर इलेक्ट दीपेन्द्र खतिवाड़ालगायतले सम्बोधन गरेका थिए।

वक्ताहरूले डिष्ट्रिक्ट ३२५ आर नेपाललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट बनाउन क्याबिनेट अफिसरहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै निरन्तर समर्पण र सक्रियतासहित काम गर्न आग्रह गरे।

उनीहरूले केवल एक वर्ष राम्रो काम गरेर मात्र नपुग्ने भन्दै आगामी वर्षहरूमा पनि त्यही उत्साह र सेवाभाव कायम राख्नुपर्नेमा जोड दिएका थिए। साथै स्कुलिङ्ग कार्यक्रममा उपस्थित हुन नसकेका साथीहरूसम्म पनि यहाँ प्राप्त ज्ञान, अनुभव र सन्देश पुर्‍याउन सहभागीहरूलाई आग्रह गरिएको थियो। कार्यक्रममा “अपडेट हुनु आवश्यक छ, आउटडेटेड हुनु हुँदैन” भन्ने सन्देशसमेत जोडदार रूपमा प्रस्तुत गरिएको थियो।

कार्यक्रममा मोटिभेसनल स्पिकर मानसी अग्रवाल र बिश्व रमण न्यौपानेले नेतृत्व विकास, सकारात्मक सोच, समूह निर्माण, अवसर र चुनौती व्यवस्थापनलगायतका विषयमा सहजीकरण गर्नेछन्।

त्यसैगरी आईडी  (इन्ड्रोर्सी)राजन लम्साल, पूर्व डिष्ट्रिक्ट गभर्नरहरू डिके ढुंगाना, सिद्धार्थलाल चुके, राजकुमार श्रेष्ठ, राम प्रसाद भट्ट, वर्तमान गभर्नर नवराज सापकोटालगायतले विभिन्न विषयमा प्रशिक्षण दिने कार्यक्रम रहेको जनाइएको छ।

यसपटकको स्कुलिङ्ग कार्यक्रम केवल प्रशासनिक प्रशिक्षणमा सीमित नरही सेवाको संस्कारलाई थप सुदृढ बनाउने उद्देश्यका साथ आयोजना गरिएको आयोजकको भनाइ छ। “Service First, Mark Forever” थीममार्फत लायन्स अभियानलाई समाज रूपान्तरणसँग जोड्ने प्रयास गरिएको सहभागीहरूले बताएका छन्।

डिष्ट्रिक्ट गभर्नर प्रभाकर पण्डितका अनुसार यस कार्यक्रमले सेवा, समर्पण र मानवताको भावनालाई थप सशक्त बनाउँदै समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास लिइएको छ। आगामी दिनमा लायन्स अभियानलाई अझ जनमुखी, उत्तरदायी तथा प्रभावकारी बनाउने दिशामा यो स्कुलिङ्ग कार्यक्रम कोशेढुंगा सावित हुने अपेक्षा गरिएको पण्डितको दावी छ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected