
कांग्रेसको ‘जरा अभियान’ मार्फत संगठन सुदृढीकरणसँगै सरकारलाई खबरदारी
पोखरा। नेपाली कांग्रेसले संगठनलाई तल्लो तहसम्म सुदृढ बनाउने उद्देश्यसहित सञ्चालन गरेको “जरा अभियान” अन्तर्गत गण्डकी प्रदेश स्तरीय क्रियाशील सदस्यता अध्यावधि, अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम पोखरास्थित होटल दीपसागरमा सुरु गरेको छ।
कार्यक्रम उद्घाटन गर्दै कांग्रेस महामन्त्री प्रदिप पौडेलले वर्तमान सरकारप्रति संकेत गर्दै संविधान, विधि र प्रक्रियाभन्दा बाहिर गएर शासन सञ्चालन गर्न खोजिए कांग्रेस चुप नबस्ने चेतावनी दिएका छन्। उनले दुई तिहाइको समर्थन प्राप्त सरकारले जनअपेक्षाअनुसार काम गर्न नसके लोकतान्त्रिक शक्तिहरूले सशक्त खबरदारी गर्ने स्पष्ट पारे।

उनले सरकार संविधानको मर्म, कानुनी प्रक्रिया र लोकतान्त्रिक मूल्यमान्यताअनुसार चल्नुपर्नेमा जोड दिँदै सत्ता बलियो भए पनि जनताको विश्वास गुमे राजनीतिक असन्तुष्टि बढ्ने बताए।

महामन्त्री पौडेलले कांग्रेसलाई प्रविधिमैत्री, व्यवस्थित र तथ्यांकमा आधारित आधुनिक राजनीतिक संगठनका रूपमा विकास गर्न सदस्यता प्रणालीलाई डिजिटल माध्यमसँग जोडिएको जानकारी दिए।
उनले भने, “कांग्रेसलाई सुरक्षित तथ्यांक र व्यवस्थित संगठन भएको पार्टीका रूपमा विकास गर्न खोजिएको हो। सदस्यहरूको योगदान, इतिहास र भूमिकालाई डिजिटल प्रणालीमार्फत सुरक्षित राख्ने काम भइरहेको छ।”
कांग्रेस सह–महामन्त्री प्रकाश स्नेहीले समयअनुसार पार्टीलाई प्रविधिसँग जोड्नुपर्ने आवश्यकता औंल्याउँदै वडा तहसम्म पुगेर सदस्यता अध्यावधि अभियानलाई प्रभावकारी बनाउन कार्यकर्तालाई निर्देशन दिए।

त्यसैगरी केन्द्रीय सदस्य योगेन्द्र चौधरीले संगठन सुदृढीकरण, सदस्यता व्यवस्थापन र कार्यकर्तासँग प्रत्यक्ष सम्बन्ध विस्तार कांग्रेसको मुख्य प्राथमिकता रहेको बताए।
कार्यक्रममा गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले विगतका कमजोरी सुधार्दै संगठनलाई जनतासँग अझ मजबुत रूपमा जोड्न नसके राजनीतिक चुनौती थप गम्भीर बन्न सक्ने धारणा राखे। उनले कांग्रेसले आफ्नो ऐतिहासिक मूल्य, लोकतान्त्रिक आदर्श र जनउत्तरदायी राजनीतिक संस्कृतिलाई व्यवहारमा उतार्नुपर्ने बताए।

“जरा अभियान” अन्तर्गत गण्डकी प्रदेशका जिल्ला तथा स्थानीय तहका प्रतिनिधि, संगठन विभागका पदाधिकारी तथा कार्यकर्ताहरूको सहभागिता रहेको गण्डकी प्रदेशसफ महामन्त्री बिष्णु प्रसाद लामिछानेले बताए। प्रशिक्षणमार्फत क्रियाशील सदस्यता नवीकरण, अभिलेखीकरण, डिजिटल व्यवस्थापन तथा संगठन विस्तारका विषयमा छलफल भइरहेको जनाइएको छ।
कांग्रेसले यो अभियानलाई केवल सदस्यता नवीकरण कार्यक्रमका रूपमा मात्र नभई संगठन पुनर्जीवन, कार्यकर्ता परिचालन र सरकारको कार्यशैलीमाथि लोकतान्त्रिक निगरानी बढाउने राजनीतिक अभियानका रूपमा समेत अघि बढाएको गण्डकी प्रदेशका उप-सभापति कल्पना तिवारीले बताइन्स।







सम्बन्धित खवर















