0Shares

घान्द्रुक, कास्की, जेठ २१। छैटौं संस्करणको अन्नपूर्ण म्याराथन २०८३ मा तेस्रो स्थान हासिल गर्न सफल घान्द्रुकका युवा धावक सचिन गुरुङलाई गाउँमा भव्य सम्मान गरिएको छ। स्थानीय खेल प्रतिभाको कदर गर्दै रोधी क्लब घान्द्रुकको पहलमा उनलाई सम्मानसहित नगद पुरस्कार प्रदान गरिएको हो।

समुद्री सतहबाट ४ हजार १३० मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविर (एबिसी) बाट सुरु भएको प्रतिष्ठित अन्नपूर्ण म्याराथनमा यस वर्ष सचिनले उत्कृष्ट प्रदर्शन गर्दै तेस्रो स्थान सुरक्षित गरेका हुन्। विगतका संस्करणहरूमा पनि नियमित सहभागिता जनाउँदै आएका उनी सुरुवाती प्रतियोगितामा उत्कृष्ट १० भित्र परेका थिए भने त्यसपछिका संस्करणहरूमा चौथो स्थानसम्म हासिल गरेका थिए। निरन्तर मेहनत, अनुशासन र खेलप्रतिको समर्पणकै परिणामस्वरूप यसपटक उनी पदक विजेता बन्न सफल भएका हुन्।

सचिन घान्द्रुकको चर्चित रोधी क्लबका सक्रिय सदस्यसमेत हुन्। उनको उपलब्धिलाई गाउँको गौरवका रूपमा लिँदै रोधी क्लबले बाजागाजासहित गाउँ परिक्रमा गराएर विशेष सम्मान कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो।

रोधी क्लब घान्द्रुकका अध्यक्ष लक्षिन गुरुङका अनुसार खेलाडीको मनोबल उच्च बनाउन, खेल विकासमा टेवा पुर्‍याउन तथा नयाँ पुस्तालाई खेलकुदतर्फ आकर्षित गर्न सम्मान कार्यक्रम आयोजना गरिएको हो। उनले सचिनको उपलब्धिले गाउँका अन्य युवालाई पनि प्रेरणा मिल्ने विश्वास व्यक्त गरे।

यस वर्षको अन्नपूर्ण म्याराथनमा घान्द्रुककै रोजन विकसहित अन्य स्थानीय धावकहरू पनि उत्कृष्ट १० भित्र पर्न सफल भएका छन्, जसले घान्द्रुकको खेल प्रतिभालाई थप उजागर गरेको छ।

सम्मान कार्यक्रममा अन्नपूर्ण गाउँपालिका वडा नं. १० का अध्यक्ष गौतम गुरुङ, वडा नं. ११ का अध्यक्ष हिमबहादुर गुरुङ, अन्नपूर्ण सेन्चुरी पर्यटन समितिका अध्यक्ष तथा अन्नपूर्ण म्याराथन २०८३ का मूल आयोजक समिति संयोजक ललित गुरुङ, रोधी क्लबका अध्यक्ष लक्षिन गुरुङ, पर्यटन ब्यवस्थापन समिति घान्द्रुकक अध्यक्ष बिक्रम गुरुङलगायत विभिन्न संघसंस्थाका प्रतिनिधि तथा स्थानीयहरूको उपस्थिति रहेको थियो।

अन्नपूर्ण म्याराथनले हिमाली पर्यटन प्रवर्द्धनसँगै स्थानीय खेलाडीको प्रतिभा उजागर गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै सचिन गुरुङको सफलता सम्पूर्ण घान्द्रुकवासीका लागि गर्वको विषय भएको क्लबका अध्यक्ष गुरुङले जनाए।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected